सवारीसाधन रोकेको विषयमा वीरगञ्जमा विवाद, दुई समुदायबीच झडप
वीरगञ्ज । पर्साको वीरगञ्जमा सवारीसाधन रोकेको विषयलाई लिएर विवाद हुँदा दुई समुदायबीच झडप भएको छ ।
आइतबार साँझ सडक पेटीमा जीप रोक्दा पछाडिबाट आएको मोटरसाइकललाई अवरोध पुगेपछि शुरु भएको सामान्य भनाभनले उग्र रूप लिँदा झडप भएको हो ।
पर्साका एसपी नरेश सुवेदीका अनुसार एक व्यक्तिले आफ्नो घर अगाडि सडक छेउमा जीप रोकेका थिए । सोही क्रममा पछाडिबाट आएको मोटरसाइकललाई अगाडि बढ्न अवरोध भएपछि मोटरसाइकल चालकले हर्न बजाएका थिए ।
बाटो छेकेको विषयलाई लिएर दुवै पक्षबीच कुराकानी हुँदाहुँदै विवाद शुरु भएको थियो । विवाद बढ्दै गएपछि घटनास्थलमा करिब दुईदेखि चार सयको हाराहारीमा मानिसहरू जम्मा भएर होहल्ला गर्दै सामान्य ढुंगामुढासमेत गरेका थिए ।
स्थिति तनावपूर्ण बन्न नदिन प्रहरीले तत्कालै सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी सुवेदीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया