रविले जिल्ला छाडेको २४ घण्टाभित्रै नेता गैरेले रास्वपा छाडे, एमालेमा प्रवेश
प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्यूठानमा सम्बोधन गरेर फर्किएको अर्को दिन प्यूठान नगर कार्यसमितिका सदस्य सूर्यबहादुर गैरेले पार्टी परित्याग गरेका छन् ।
शनिबार गैरे एमालेमा प्रवेश गरेका छन् । गैरेलाई एमालेका केन्द्रीय सदस्य समेत रहेका प्यूठानमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्यबहादुर थापाले पार्टीमा स्वागत गरेका छन् । एमालेको प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टले नवप्रवेशी रास्वपाका नगर सदस्य गैरेलाई पार्टीको सदस्यता प्रदान गरेका छन् ।
नेपाल र नेपाली आत्मस्वाभिमान आत्मगौरव, भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झँदै गैरेले रास्वपालाई परित्याग गरेको बताएका छन् । गैरेले देशलाई खरानी बनाउने पार्टीमा बस्न आफूलाई मन नलागेर एमालेमा प्रवेश गरेको बताएका छन् ।
शुक्रबार साँझ प्यूठानमा आएका रास्वपाका सभापति लामिछानेले एमालेसहितका दलका उम्मेदवारहरूप्रति लाञ्छना लगाएर निकै तल्लोस्तरमा गालीगलौज गरेर फर्किएका थिए । सभापति लामिछाने करोडौं रुपियाँ सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपी रहेका छन् ।
सभापति लामिछानेले प्यूठान जिल्लाबाट फर्किएको २४ घण्टाभित्रै पार्टी परित्याग गरेर गैरेले रास्वपाका नेताहरूको नैतिकतामा गम्भीर प्रश्न उठाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया