कुरा होइन, काम बोल्ने कांग्रेसका उम्मेदवार प्रेम खत्री
आरुघाट । गोरखाको पहाडी भूगोलमा एउटा यस्ता नाम छ, जसलाई धेरैले पदभन्दा पहिला सेवाबाट चिन्छन्– प्रेमकुमार खत्री । पैसा कमाउन सक्ने क्षमता सबैसँग नहुन सक्छ । तर, पैसा भएर पनि सेवा गर्ने मन सबैमा हुँदैन भन्ने भनाइलाई उनले आफ्नै जीवनबाट उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । व्यवसायबाट आर्जित साधनलाई समाजमै फर्काउने अभ्यासमार्फत उनले आफूलाई गोरखाको सामाजिक अभियन्ताका रूपमा स्थापित गरेका छन् ।
आरुघाट–८, आरुपोखरीमा जन्मेर हुर्किएका ४१ वर्षीय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले क्रमशः ऊर्जा र कृषि क्षेत्रमा पनि लगानी विस्तार गरे । व्यवसायिक सफलतासँगै सामाजिक दायित्व वहन गर्नुपर्छ भन्ने सोंचले उनलाई गाउँ–गाउँ जोड्यो । २२ वर्षको उमेरदेखि नै उनले सामाजिक कामलाई निरन्तरता दिएका हुन् ।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पले जिल्लालाई तहसनहस बनाएको बेला खत्री राहत, उद्धार र पुनर्निर्माणमा अग्रपंक्तिमा देखिए । घरबारविहीन भएका विपन्न परिवारका लागि ७९ वटा घर निर्माण गरी हस्तान्तरण गर्नु उनका लागि केवल परोपकार होइन, सामाजिक उत्तरदायित्व थियो । भूकम्पपछिको कठिन समयमा खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री र पुनःस्थापनाका प्रयासमार्फत उनले गाउँ–गाउँमा पुगेर सहयोग गरे ।
कोभिड महामारीका बेला पनि उनी सक्रिय रहे। जोखिमका बीच एम्बुलेन्स, अक्सिजन सिलिन्डर र औषधिसहित दुर्गम बस्तीमा पुगेर सेवा पुर्याए । गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स उपलब्ध गराउँदै स्वास्थ्य पहुँच विस्तारमा योगदान दिएका छन् । ७ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना तथा आवश्यक उपकरण सहयोग गरेर गाउँमै उपचारको आधार तयार पारिएको छ । नियमित स्वास्थ्य शिविरमार्फत निःशुल्क जाँच र औषधि वितरणले हजारौँ नागरिक लाभान्वित भएका छन् ।
शिक्षा क्षेत्रमा उनको योगदान उल्लेखनीय मानिन्छ । ३० हजारभन्दा बढी विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म सहयोग उपलब्ध गराउँदै आएका छन् । विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, भवन निर्माण र छात्रावास निर्माणमार्फत ग्रामीण शिक्षाको पूर्वाधार सुदृढ बनाउने प्रयास गरिएको छ । उनका लागि शिक्षा दान होइन, भविष्यमा लगानी हो ।
महिला र युवाको सशक्तीकरणमा पनि खत्री सक्रिय छन् । १५० भन्दा बढी महिला समूहलाई आयआर्जनका सामग्री सहयोग गरेर आत्मनिर्भरतातर्फ प्रेरित गरिएको छ । गाउँगाउँका १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहयोगमार्फत सकारात्मक गतिविधिमा जोड्ने काम गरिएको छ । पञ्चेबाजा र खैजडी भजन जस्ता मौलिक सांस्कृतिक धरोहरको संरक्षणसँगै युवालाई रोजगारीसँग जोड्ने पहल पनि अघि बढाइएको छ । कफी खेतीजस्ता कार्यक्रममार्फत ग्रामीण स्वरोजगार सिर्जनामा जोड दिएका छन् ।
‘सेवामार्फत परिवर्तन सम्भव छ’ भन्ने विश्वाससहित उनले ‘सम्भव नेपाल’ अभियान सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा संस्थागत ढंगले कार्यक्रम अघि बढाएका छन् । सामाजिक कामलाई व्यक्तिनिष्ठ नभई संस्थागत संरचनामा लैजानुपर्ने उनको धारणा छ ।
राजनीतिक रूपमा उनले विद्यार्थी जीवनदेखि सक्रियता देखाएका थिए । आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका खत्री अहिले नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । पार्टीभित्र युवा र परिवर्तनको पक्षमा बोल्दै आएका उनलाई यसपटक गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको छ ।
उनले ३० भन्दा बढी देशको भ्रमण गरी त्यहाँको विकास अनुभव नजिकबाट अध्ययन गरेको बताउँछन् । पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानीमार्फत सयौँ युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरिएको दाबी छ । अब ती अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने उनको लक्ष्य रहेको छ ।
सरल स्वभाव, स्पष्ट विचार र विकासप्रेमी सोचका रूपमा परिचित खत्री राजनीतिलाई शक्ति आर्जनको माध्यम होइन, सेवाको विस्तारित रूप ठान्छन् । करिब डेढ दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहेका उनी अब त्यस अनुभवलाई संसदीय नेतृत्वमार्फत व्यापक बनाउने अभियानमा छन् ।
गोरखाली जनताका लागि प्रेम खत्री केवल उम्मेदवार होइनन्, संकटमा साथ दिने, शिक्षा र स्वास्थ्यमा हात बढाउने, रोजगारी र आत्मनिर्भरता जोड्ने एक भरोसाको नामका रूपमा स्थापित भएका छन् । अब त्यो सेवा भावलाई औपचारिक नेतृत्वमा रूपान्तरण गर्ने कि नगर्ने निर्णय भने मतदाताको हातमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया