कांग्रेसलाई जिताएर पठाउनुस्, प्यूठानमा काम गर्छौं, उम्मेदवार र नेताहरू सम्पर्कमा छौं : रोज राणा

झिमरुक । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री समेत रहेका नेपाली कांग्रेस, प्यूठानका क्षेत्रीय सभापति रोज राणाले मुलुक बिषम परिस्थितिमा रहेको भन्दै नेपाली कांग्रेसलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

बुधबार प्यूठानको झिमरुक गाउँपालिकाको ओखरकोटमा चुनावी कार्यक्रममा सहभागी हुँदै मन्त्री राणाले प्यूठानबाट नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेललाई विजयी गराएर पठाउन आग्रह गरे । उनले काम गर्ने व्यक्ति विजयी भएर सत्तामा जाँदा काम गर्छ भन्ने कुराको नेपाली कांग्रेसले पुष्टि गरेको बताए ।

मन्त्री राणाले भने, ‘एउटा व्यक्तिलाई निर्वाचित गरेर पठाएपछि त्यसपछिको स्पष्ट खाका के हो ? त्यसको बौद्धिकता के हो ? त्यसले सिकेको के हो ? त्यसले जानेको कुरा के हो हामीले बुझ्नु पर्छ ।’

‘०७९ मा भएको चुनाव फेरि हामी ०८२ मा गर्दै छौं । देशको बिषम परिस्थितिमा हामी छौँ,’ राणाले भने, ‘अहिले हामीले सचेत भएर सहि ठाउँमा मतदान गरेनौँ भने यो संसदीय व्यवस्था ५ वर्ष राख्न सक्छौं कि सक्दैनौँ ? फेरि हामीबीचमा धरासायी हुन्छौं कि भन्ने जोखिमपूर्ण अवस्था छ । त्यो अवस्थालाई जोगाउनको लागि पनि नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेलको रुख चिन्हमा मतदान गरेर तपाईहरूले विजयी गराउनु हुनेछ ।’

उनले भने, ‘डा.गोविन्दराज पोखरेलको अर्थविज्ञता भएको कारणले उहाँले योभन्दा अगाडि योजना आयोगको उपाध्यक्ष हुँदा पनि भीमगिठेको २ सय २५ करोड पैसाको टेण्डर भएको थियो । दुर्भाग्य भन्न चाहन्छु, जुन ठेकेदारलाई ठेक्का प¥यो ब्ल्याक लिष्टमा परेका कारणले त्यो बाटो सम्पन्न हुन सकेन ।’

शहरी विकास तथा खानेपानीमन्त्री राणाले भने, ‘मलाई पनि कता कता यो बाटो बनाउनुपर्छ भन्ने थियो । योभन्दा पहिला ५ करोड र अहिले पछिल्लो पटक सम्पूर्णमा ३० करोडबाट ३५ करोड र प्रदेश सरकारबाट मैले पहल गरेर यो बाटोमा काम भइरहेको छ ।’

‘आगामी दिनमा अर्को पटक मसहित चुनावमा नेपाली कांग्रेसको टोलीफेरि चुनावको प्रचारमा आइरहँदा त्यतिखेर पिचबाटोमा आउने छौँ,’ मन्त्री राणाले भने, ‘त्यसका लागि तपाईहरूले रुख चिन्हमा मतदान गरेर डा.गोविन्दराज पोखरेल, तपाईले हेर्दा डा.गोविन्दराज पोखरेल व्यक्ति मात्रै नभएर सिङ्गो नेपाली कांग्रेसको उम्मेदवार हो ।’

मन्त्री राणाले भने, ‘म चुनावी कार्यक्रमहरूमा आउन पाइरहेको थिइन् । मलाई मन्त्रालयमा पनि काम भएको कारणले चार गतेभन्दा अगाडि आचार संहिताहरूले पनि नदिने विविध कुराहरू थिए । चुनावी सभाहरू गर्न नपाउने भएकोले उम्मेदवार र नेताहरूसँग म निरन्तर सम्पर्कमा थिएँ ।’

‘हामी नेपाली कांग्रेसहरू एक ठाउँमा छौँ । अझै एकजुट भएर तपाईहरू नेता हो, तपाईहरूलाई हामीलाई थाहा थिएन भन्ने पाइँदैन,’ राणाले भने, ‘तपाईहरूले अरु भोटरहरूलाई पनि गएर कन्भिन्स गरेर नेपाली कांग्रेसलाई मत हालेपछि मात्रै हाम्रो भविष्य सुरक्षित छ ।’

‘नेपाली कांग्रेसले जित्यो भने मात्रै विकास सम्भव छ भन्ने कुरा अन्य सामान्य जनतालाई, सामान्य कार्यकर्तालाई बुझाएर यस पटक नेपाली कांग्रेसलाई बहुमतका साथ जिताएर पठायौं भने फेरि डा.गोविन्दराज पोखरेलको पहलमा केन्द्रबाट हुने विकासको योजनाहरूलाई धेरैभन्दा धेरै योजनालाई समावेश गरिनेछ,’ राणाले भने ।

‘प्रदेशमा अझै हाम्रो दुई वर्ष कार्यकाल बाँकी छ । प्रदेशका तपाईहरूका साना आवश्यक्ताहरू खानेपानी, सिंचाइहरू, दैनिक आवश्यक्ताहरू प्रदेशबाट सम्बोधन गर्ने छौं,’ मन्त्री राणाले भने ।

क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले भने, ‘हाम्रो मत बिगार्ने होइन । हामीले हाम्रो मत मात्रै होइन तल्लो तहका मतदातालाई पनि नेपाली कांग्रेसलाई भोट होलेपछि मात्रै विकास सम्भव छभन्ने बुझाउनुपर्छ ।’

कार्यक्रममा मन्त्री राणाका साथै कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेल, पूर्व सभापति सुवास केसी, उपसभापतिद्वय देवेन्द्र वर्मा, ईश्वर विष्ट, नेताहरू खिमानसिंह रायमाझी, प्रमोद पोखरेल, शिव रिजाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, नेपाल तरुण दलका जिल्ला अध्यक्ष कृष्ण बस्यल ‘रोयल’ लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 February 18, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया