नाम फेरेर कांग्रेसद्वारा प्रतिज्ञापत्र सार्वजनिक, धेरै कुरामा झिल्के आश्वासन
काठमाडौं । नेपाली कांग्रेसले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षालगायतका १० वटा विषयलाई प्राथमिकता दिँदै चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
बुधबार जनकपुरमा कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको जनाएको छ । सुशासन र समुन्नतिको भिजन टेन नाम दिइएको घोषणापत्रको विस्तृत अंश भने काठमाडौंमा बिहीबार राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
कांग्रेसको प्रतिज्ञापज्ञमा नयाँ कुरा केही छैनन् । विगतका निर्वाचनमा जस्तै आश्वासनहरू राखिएका छन् । कांग्रेसको प्रतिज्ञापत्रलाई झिल्को नाम दिइएको छ । विगतमा घोषणापत्र भनिएको थियो । यस पटक त्यसको नाम परिवर्तन गरेर प्रतिज्ञापत्र भनिएको छ ।
कांग्रेसले जेनजी विद्रोहलाई आत्मसाथ गर्दै नेपालको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुने गरी सम्मानपूर्वक बाँच्न पाउने नेपालको निर्माण गर्ने दृष्टिकोण प्रतिज्ञापत्रमार्फत अघि सारेको छ ।
उच्चशिक्षाको नाममा होस या कामको सिलसिलामा, दैनिक दुई हजारभन्दा बढी युवा विदेशिइरहेको सन्दर्भमा कांग्रेसले स्वदेशमै मर्यादित रोजगारी र आकर्षक अवसर सिर्जना गर्ने घोषणा गरेको छ ।
सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपालको निर्माण गर्दै घोषणा गर्दै कांग्रेसले आँट गरेर लगानी गर्ने र उत्पादनमा जोड दिने व्यवसायीलाई प्रोत्साहन गर्दै पछाडि परेकालाई आय र सम्पति आर्जन गर्न सक्षम बनाउने वाचा गरेको छ ।
पेटभरी खुवाउने र देशलाई चिनाउने किसानको नेपाल निर्माणको घोषणा गर्दै कांग्रेसले कृषिलाई मर्यादित पेसा बनाइ कृषिमा प्रविधिको पहुँच बनाउने र युवालाई भरोसा गर्न लायक मुलकु बनाउने प्रतिबद्धता गरेको छ ।
स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गर्दै औषधि र अस्पतालमा सहज पहुँच र स्वास्थ्य विमा प्रणालीलाई जिम्मेवार बनाउने घोषणा गरेको छ । राजनीतिक हस्तक्षेपले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा अस्तव्यस्त भैरहेको सन्दर्भ कांग्रेसले छोराछोरी पढाउन आर्थिक भार नपर्ने गरी जीवनउपयोगी र विश्वप्रतिस्पर्धी गुणस्तरीय शिक्षा दिने दृष्टिकोण अघि सारेको छ ।
विश्वविद्यालयलाई दलीय भागबन्डाबाट मुक्त गरी प्राज्ञिक स्वायत्त संस्थाको रूपमा विकास गर्ने र योग्यतम व्यक्ति नियुक्तिमा प्राथमिकता दिने कांग्रेसको योजना छ ।
बेथिति र हैरानीमुक्त विधिको शासन स्थापना गर्न र लोकतान्त्रिक पहुँच सुनिश्चित गर्दै घरमै बसेर सेवा पाउने वातावरण बनाउने घोषणा कांग्रेसको छ ।
प्रविधिको प्रयोगले भष्ट्राचार र सरकारी ढिलासुस्ति समाप्त पार्ने योजना अघि सार्दै कांग्रेसले मौलिकतामा गर्व गर्ने आधुनिक नेपालको निर्माण गर्ने भनेको छ ।
सगरमाथा र बुद्धको देश मात्र नभइ नेपाललाई विश्वले सम्मान गर्ने स्वाभिमानी नेपालको निर्माण र समुन्नतिमा लम्कनेगरी कृषि, पर्यटन, उर्जा, सूचना–प्रविधि तथा खेलकुद विकासमा जोड दिएको छ ।
२०७९ को चुनावी घोषणापत्रमा कांग्रेसले पाँच वर्षमा साढे १२ लाखलाई रोजगारी दिने, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि, रासायनिक मल कारखाना स्थापना, पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने र सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने वाचा गरेको थियो ।
कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टीकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको कांग्रेसले जनाएको छ ।
प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ । ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनहरूमा आम मतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न, अमूक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट नभाग्नेसमेत बताएको छ । ‘हामी अमूक र अर्मूत कारण देखाएर कहिल्यै जिम्मेवारीबाट पन्छदैनौँ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा भिजन टेनको संक्षेपमा प्रस्तुत गरिएको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘कांग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरेको छ । पुनरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया