सामाजिक संजालमा चलाइने गलत र मिथ्या सूचनाबाट सचेत रहनुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

बुधबार निर्वाचनको तयारीसम्बन्धी विषयमा काठमाडौं– ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले सामाजिक संजालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत रहन आग्रह गरे । उनले आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

गृहमन्त्री अर्यालको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा, गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य तथा काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराई लगायतका टोली स्थलगत निरीक्षणका लागि पुगेका थिए ।

गृहमन्त्री अर्यालसहितको टोलीले गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र र ओख्रेनी मावि, सुन्दरीजलमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमन गरेका छन् ।

गृहमन्त्री अर्यालसहितको टोलीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धापड्यामको पनि निरीक्षण गरेको छ ।

गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका–४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गरेका छन् ।

Published : Wednesday, 2026 February 18, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया