नेपाल र भारतबीच पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतले आपराधिक विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल र भारतले सम्झौतामाथि हस्ताक्षर गरेका हुन् । नेपालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मन्त्रालयका उच्च अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

फौजदारी विषयमा दुई मुलुकबीच पारस्परिक कानूनी सहायता आदानप्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको कानून मन्त्रालयले बताएको छ ।

‘सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण संकलन तथा आदानप्रदान लगायतका विषयमा दुवै मुलुकका सक्षम अधिकारीबीच सहयोग आदानप्रदान गर्नको लागि विधिवत् मार्ग प्रसस्त गर्नेछ,’ कानून मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सम्झौता नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुनेछ । यसले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याकंनमा समेत थप मद्दत पुर्‍याउने मन्त्रालयको विश्वास छ ।

Published : Wednesday, 2026 February 18, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया