झापा– २ मा विभिन्न दल परित्याग गरेर १ सय ५० भन्दा धेरै युवाहरू कांग्रेसमा प्रवेश

गरामनी । झापामा विभिन्न राजनीतिक दल परित्याग गरेका १ सय ५५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार झापाको गरामनीमा निर्वाचन परिचालनका लागि विर्तामोड नगरपालिका वडा नं. ८ मा प्रचार प्रसारका लागि सम्पर्क कार्यालय उद्घाटनका क्रममा १ सय ५५ जनाभन्दा धेरै युवाहरू कांग्रेसमा प्रवेश गरेको नेताहरूले बताएका छन् । नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापा र झापा क्षेत्र नं. २ की उम्मेदवार एवम् नेतृ सरिता प्रसाईंले स्वागत गरेका हुन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र रहेका युवाहरुले नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताएका छन् ।

कांग्रेसमा प्रवेश गर्ने युवाहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले नजिकिदै गरेको प्रतिनिधिसभा निर्वाचनमा सही पार्टी र सही नेतृत्व चयन भएमात्रै जनताले सुख पाउने बताए । थापाले नेपाली कांग्रेसका उम्मेदवारहरू हरेक जनताको दुःखसुखमा साथ रहेको बताए ।

झापा क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार प्रसाईंले २००७ सालदेखि अहिलेसम्म भएका ब्यवस्था परिवर्तन एवं संविधान घोषणाजस्ता महत्वपूर्ण काम कांग्रेसकै नेतृत्वमा भएको बताइन् । अहिले पनि देश संकटमा रहेकाले यसको निकासका लागि कांग्रेसलाई ठूलो पार्टी बनाउन प्रसाईंले अपील गरेकी छिन् ।

कांग्रेसकी समानुपातिक उम्मेदवार उमा शिवाकोटी, सुशीला ढकाल आचार्य, मनुमाया विश्वकर्मा तथा महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, कोषाध्यक्ष जलकुमार गुरुङ, झापा क्षेत्र नं. २ का सभापति एवं निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनाली लगायतले कांग्रेसलाई विजयी गराउन अनुरोध गरेका छन् ।

उदय कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने १५ जनाभन्दा बढी अग्रज ब्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र उत्तम कटुवालले संयुक्त रुपमा गर्नुभएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख रश्मीशेखर सुवेदीले बताए ।

Published : Wednesday, 2026 February 18, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया