ग्याल्पो ल्होसारले असमानताको अन्त्य र सामाजिक सद्भाव कायम गर्नेछ : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग्याल्पो ल्होसार– २०८२ को अवसरमा शुभकामना दिएका छन् ।
बुधबार शुभकामना सन्देश जारी गरेर मुख्यमन्त्री बानियाँले भने, ‘शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
‘ग्याल्पो ल्होसार पर्व मान्ने समुदायले आफ्नो घर, गाउँ टोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारकारसाथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वगत गर्ने गर्दछन्,’ बानियाँले भने ।
‘बागमती प्रदेशभित्रका आदिवासी जनजाति शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको महसुस गरेका छौं,’ मुख्यमन्त्री बानियाँले भने ।
‘बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको विश्वास दिलाउन चाहन्छु,’ मुख्यमन्त्री बानियाँले भने ।
‘ग्याल्पो ल्होसार पर्वले हामीबीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्नेतर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले भने ।
‘अन्त्यमा ग्याल्पो ल्होसार, २०८२ पर्वले सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, संहिष्णुता र मेलमिलाप बढाई हाम्रो सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढून प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा राख्दै शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया