साम्यवाद र समाजवादी दर्शन असफल भइसक्यो, सुरक्षा निकायलाई दक्ष बनाउँछौं : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवाद र समाजवादी दर्शन असफल भइसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरू पनि सम्वर्द्धनवादतर्फ उन्मुख भइरहेको बताए ।
मुलुकलाई बनाउन पनि र बचाउन पनि सम्वर्द्धनवाद उपयुक्त विचारधारा भएको भन्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले यसलाई अंगीकार गरेर अघि बढेको बताए ।
उनले भने, ‘अब फेरि समाज कतातिर गइराखेको छ भने, अब मेरो परम्परा, मेरो राष्ट्र प्रथम हो भन्ने मान्यतातर्फ संसार भइराखेको छ । अहिले संसारका ठूल्ठूला देशहरू अहिले त्यो मान्यताबाट प्रेरित भएर अगाडि बढिराखेका छन्, ‘संसारमा यो सम्वर्द्धनवाद, जसलाई अनेक नाम दिएका होलान् ।’
अध्यक्ष लिङदेनले गैरआवासीय नेपालीलाई वंशजका आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको पनि बताएका छन् ।
उनले नेपालको राष्ट्रिय सुरक्षाको अन्तिम किल्ला रहेको नेपाली सेनाको परम्परागत गौरव अक्षुण्ण राख्दै आवश्यक सुधार गरिने उल्लेख गरेका छन् ।
सेना तथा सुरक्षाकर्मीको सीप विकास र दक्षता अभिवृद्धिमा प्राथमिकता दिइने राप्रपाले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई अझ सबल, प्रभावकारी र उच्च मनोबलयुक्त बनाउँदै राजनीतिक हस्तक्षेपमुक्त संस्थाका रूपमा विकास गरिने राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया