सहमतिमा एनआरएनएको अध्यक्ष बनाउन अपील, डा.शर्माद्वारा रिब्राण्डिङ्ग रोडम्यापसहित उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा.शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने जनाएका छन् ।

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा.शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।

संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरूलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा.शर्माले संस्थापनाकालको दांजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको संभावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरुलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए ।

उनले गैरआवासीय नेपाली संघको वर्तमान चुनौतीहरूलाई आत्मसात गर्दै आगामी कार्यकालका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए । आफ्नो १३ बुँदे घोषणापत्रमार्फत एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सीप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नव प्रवर्तनका लागि एनआरएनए बनाउने उनले बताए ।

उम्मेदवारी घोषणा सभाको सञ्चालन चेक रिपब्लिकबाट डा. चिरञ्जीवी खड्का, कोरियाबाट डा.विमल सुवेदी लगायतले गरेका थिए ।

एनसीसी युके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत मन्तव्य राख्दै एनआरएनएको साख राख्नेगरी अघि बढ्न शुभकामना दिए । यसका लागि विधानमा रहेका छिद्रहरु संशोधन गरेर अघि बढ्न उनले सुझाए । संस्थालाई राजनीतिभन्दा सामाजिक र परोपकारी भूमिकामा अगाडि बढाउनुपर्ने र गैरआवासीय नेपालीको समस्या सम्बोधन गर्नेगरी अगाडि जानुपर्ने उनको भनाइ थियो ।

विग्रेको छवि सुधारेर संस्थाको भूमिका प्रभावकारी बनाउने, अध्यक्षको रुपमा पारदर्शी, अनुशासित र सबैको एउटै अपनत्व हुने संस्था हुन सकोस् भनेर शुभकामना दिँदै एनआरएनएलाई एक ढिक्का बनाएर लैजाने टिम बनाउन उनले सुझाव दिए । हङकङबाट आईसीसी महिला सचिव टिका गुरुङ (राधिका)ले सबैलाई समेटेर अगाडि बढ्न शुभकामना दिइन् ।

पूर्वसांसद डा.सूर्य पाठकले विधि विधान बनाउन मेहनत गर्ने तथा विधानको अक्षरशः पालना गर्न कटिबद्ध रहने शर्मालाई एनआरएनएले अध्यक्षको रुपमा पाउँदा संस्थाको गरिमा बढ्ने बताए । उनले संस्थामा आशा, भरोसा र विश्वास जगाउन सकेका शर्मालाई सर्वसम्मत अध्यक्ष पाउँदा अझ बलियो र एकताबद्ध एनआरएनए बनाउन सकिने भन्दै शुभकामना दिए ।

एनआरएनएलाई रिब्राण्डिङ गर्ने नवीन सोच राखेर आएको शर्माको घोषणापत्रले एनआरएनएलाई गौरवशाली संस्थाको रुपमा विकास गर्ने उनले विश्वास व्यक्त गरे । साझा हितको लागि उपयुक्त व्यक्ति, ३० वर्षदेखि संस्थामा काम गरेको व्यक्ति भएकाले पनि उनी १२औं महाधिवेशनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री दीनानाथ शर्माले एनआरएनएलाई अगाडि बढाउन डा.शर्माको एजेण्डा उपयोगी भएको बताए । डा.शर्मालाई आफूले पढाएको इमान्दार, लगनशील विद्यार्थी भन्दै अध्यक्ष पदमा निर्वाचित हुन शुभकामना दिए । एनआरएनएलाई सम्हालेर लैजाने, सबै विचारलाई समेटेर छाता संस्थाको रुपमा अगाडि बढाउन, संयोजन र समायोजन गरेर लैजान शर्मा सक्षम रहेको उनको भनाइ थियो ।

एनआरएनएका संस्थापक महासचिव भीम उदासले डा.शर्माको घोषणापत्र एनआरएनए आन्दोलनका लागि कम्प्रिहेन्सिभ रोडम्याप भएको बताए । यति राम्रोसँग अहिलेसम्म कुनै उम्मेदवारले घोषणापत्र नल्याएको उनको भनाइ थियो । घोषणापत्रमा उल्लेखित सबै एजेण्डा शर्माको कार्यकालमा पूरा हुन सकोस् भन्ने शुभकामना दिंदै उनले अन्तर्राष्ट्रियस्तरमा एनआरएनएको छवि बनाउन शर्मालाई निर्विरोध अध्यक्ष बनाउन आह्वान पनि गरे ।

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले पनि शर्मा नेपालको विकासका लागि सधैं चिन्तनशील रहने एक अब्बल र योग्य व्यक्तित्व रहेको भन्दै शुभकामना दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै सम्पन्न हुने स्पष्ट पारे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माको उम्मेदवारी घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अधिकतम प्रतिनिधिहरूलाई काठमाडौंमा उपस्थित गराई निर्वाचन सम्पन्न गर्ने प्रयास गरिने बताएका हुन् । उनले परराष्ट्र मन्त्रालयले एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचन प्रक्रियाबारे स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै सोही निर्देशनअनुसार कार्यविधि तयार गरी निर्वाचन गरिने बताए ।

‘परराष्ट्र मन्त्रालयले अधिकतम उपस्थितिका साथ निर्वाचन गर्न निर्देशन दिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी सोही अनुसार कार्यविधि बनाएर निर्वाचन सम्पन्न गर्छौँ ।’

डा.हेमराज शर्माको उम्मेदवारीप्रति शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले डा. शर्माको उम्मेदवारी सकारात्मक र ऊर्जाशील रहेको बताए । उनले डा.शर्मासँगको लामो सहकार्य स्मरण गर्दै लोकतान्त्रिक अभियानमा उनको योगदान उल्लेख गरे ।

उम्मेदवारी घोषणासभामा जोडिएका विश्वभरका एनआरएनए प्रतिनिधि तथा सदस्यहरुले पनि शर्मालाई शुभकामना दिएका थिए ।

८ घण्टा बढी लामो चलेको सो कार्यक्रममा संघका ५० भन्दा बढी देशका ६ सय भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

एनआरएनएका ६३ वटा एनसीसीले १२औं महाधिवेशनका लागि डेलिगेट्स छनोट प्रक्रिया सुरु गरि सकेका छन् ।

कार्यक्रममा पत्रकारहरूसंग अन्तरक्रिया पनि राखिएको थियो । पत्रकारहरूका जिज्ञासाको जवाफ दिंदै डा.शर्माले संस्थालाई समय सान्दर्भिक बनाउन र संघमा रुपान्तरण आवश्यक छ भनेर महासचिव हुँदादेखि नै सक्रिय रहेको र त्यसलाई मूर्त रुप दिन अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

संस्थालाई बलियो बनाउने र ब्राण्डिङ गर्ने, संस्थाको संरचना, निर्वाचन प्रणाली र राजनीतिक हस्तक्षेप नै अहिले समस्या रहेको भन्दै आइसिसीमा प्रत्यक्ष तथा विद्युतीय माध्यमबाट मतदान गर्न पाउने, गैरआवासीय नेपाली ऐन संशोधन, सदस्यता वितरण र नवीकरण एआईबाट गर्नेलगायतका एजेण्डा उनले अघि सारेका छन् ।

Published : Monday, 2026 February 9, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया