कांग्रेसले चुनावी गठबन्धन गर्न लागेको हो ? के भन्छन् नेताहरु ?
काठमाडौं । नेपाली कांग्रेसले अन्य कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने जनाएको छ ।
बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेताहरुले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेकाले चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।
नेताहरुले भने, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा ग¥यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ ।’
‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौं । सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छौं,’ नेताहरुले भने ।
कांग्रेस नेताहरुले अधिनायकवादीहरू मीठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरेका छन् । उनीहरुले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा घृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति सचेत रहेको नेताहरुले बताए ।
चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको कांग्रेसका नेताहरुले बताएका छन् । उनीहरूले राजीनामा दिएर जानु मानवअधिकारको विषय बने पनि नौतिकताको विषय चाहिँ नभएको कांग्रेस नेताहरुले बताए ।
कांग्रेसका नेताहरुले विभिन्न राजनीतिक दलहरूबाट विपक्षी उम्मेदवारप्रति घृणा फैल्याउने क्रम बढ्दै गएकामा आपत्ति व्यक्त गरेका छन् ।
‘पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । चुनावपूर्व कुनै पार्टीसँग गठबन्धन हुँदैन । भ्रम फैल्याउने कार्यको हामी निवारण गर्छौँ, डबली कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ’, नेताहरुले भने । देशभरबाट कांग्रेसप्रतिको भरोसा बढ्दै गएको उल्लेख गर्दै नेताहरुले विगतमा कांग्रेस नेतृत्वका विभिन्न सरकारका पालामा महत्वपूर्ण कामहरू भएका बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया