प्रहरी धुलो टक्टक्याएर खरानीबाट उठ्दै नागरिकको सेवामा समर्पित छ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै नागरिकको सेवामा समर्पित रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको बताएका हुन् ।
यसबीचमा भएका विभिन्न घटनाक्रममापछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनस् नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको उनले बताए ।
‘नागरिकका अनगिन्ती समस्या, असिमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको छ,’ आईजीपी कार्कीले भने ।
कार्कीले समय, युग तथा परिवेश अनुसार राज्यको फर्स्ट रेस्पोन्डर र कानुन कार्यान्वयन गर्ने निकायमा कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण र साधन स्रोतमा युग परिवर्तन सुहाउँदो सरकारको लगानी आवश्यक रहेको उल्लेख गरे ।
हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको स्मरण गराउँदै उनले अझ लगनशील हुन निर्देशन पनि दिए ।
दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने पनि उनको भनाइ थियो । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरि ९२ प्रहरी निरीक्षक दिक्षित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया