बालेनको देश दौडाहालाई ब्रेक लगाउन रास्वपाद्वारा अर्याल संयोजकत्वको समिति गठन

काठमाडौं । पूर्वमेयर एवम् वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले राजाको शैलीमा देश दौडाहा गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।

बालेनले झापादेखि दार्चुलासम्म देश दौडाहा गरेका छन् । बालेनले रास्वपा कब्जा गर्ने शैलीमा गतिविधि गरेपछि रास्वपाले अर्यालको संयोजकत्वमा समिति बनाएको छ । बालेनको देश दौडाहा र गतिविधिमा ब्रेक लगाउन रास्वपाले अर्याल नेतृत्वको समिति गठन गरेको चर्चा छ । अर्याल नेतृत्वको समितिले नै निर्वाचन सम्बन्धी गतिविधि र कार्यतालिकाहरू तयार पार्नेछ । समितिको निर्देशन विपरीत बालेन अब देश दौडाहामा जान पाउने छैनन् ।

केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति अर्यालको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले जनाएको छ । समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन् ।

पार्टी संगठन सुदृढ गर्दै प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या प्राप्त गर्ने उद्देश्यसहित समिति गठन गरिएको पार्टीले जनाएको छ ।

समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू समेटिएका छन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट नेताहरूलाई समावेश गरिएको छ ।

प्रदेशगत सदस्यहरू

१. कोशी प्रदेश

उपेन्द्र पाण्डे, लक्ष्मी बडेरु, ओमनाथ भण्डारी, चन्द्रशेखर सापकोटा, पुष्कर थापा, निरज गौली, रविकुमार थपलिया

२. मधेश प्रदेश

डा. मनीषा यादव, मोहमद अयुब, महेन्द्रराज पोखरेल, यम श्रेष्ठ, प्रदीप निल्लेवा (साजन), मनबहादुर लामा

३. बागमती प्रदेश

सरिता ज्ञवाली, डा.अरनिको पाँडे, सुरज प्रधान, लय बिष्ट, प्रकाश आचार्य, दीपक विश्वकर्मा, सुमनविक्रम पाण्डे

४. गण्डकी प्रदेश

मयाराज अधिकारी, प्रदीप पाण्डे, हरि जोशी, प्रतिला शिवा भण्डारी, गोकुल सापकोटा, कृष्णमान श्रेष्ठ, हरिराज पडुवासैनी

५. लुम्बिनी प्रदेश

अर्जुन अधिकारी, इस्राइलुल्ला मियाँ, मोहन क्षेत्री, गोपाल घिमिरे, महेन्द्र गुप्ता, कल्पना पाण्डे, हरिप्रसाद रिजाल

६. कर्णाली प्रदेश

श्यामबाबु गौतम, डा.प्रभात अधिकारी, गणेशदत्त दर्कोटा, इ. शंकर ढकाल, सुशील अधिकारी, साजन विक

७. सुदूरपश्चिम प्रदेश

डा. कृष्ण भट्टराई, लक्ष्मण थारु, खेमराज साउद, शिवराज पन्त, कविन्द्र ठकुल्ला, कृष्ण न्यौपाने, जनकुमारी शिवा

रास्वपाले संघीय निर्वाचन सम्पादन समितिअन्तर्गत तीन वटा विशेष उपसमिति पनि गठन गरेको छ ।

पार्टी संगठन तथा उम्मेदवारहरूबीच समन्वय गर्ने उद्देश्यले केन्द्रीय समन्वय उपसमिति, सुरक्षा तथा अन्य प्रशासनिक कामका लागि प्रशासनिक समन्वय उपसमिति, र सूचना संकलन तथा सञ्चार माध्यमसँग समन्वय गर्ने सञ्चार समन्वय उपसमिति गठन गरिएको हो ।

१. केन्द्रीय समन्वय उपसमितिमा संयोजक रामकृष्ण भट्टराई तथा सदस्यहरूमा शिव नेपाली, होषण महतो (पार्टी संगठन तथा उम्मेदवारहरूबीच आन्तरिक समन्वय गर्ने जिम्मेवारी) रहेका छन् ।

प्रशासनिक समन्वय उपसमितिको संयोजकमा विष्णुकुमार श्रेष्ठ सदस्यहरूमा डा. चन्दा काकी, विदुर खड्का (सुरक्षा तथा निर्वाचनसम्बन्धी कार्यमा नेपाल सरकारका निकायसँग समन्वय) रहेका छन् ।

सञ्चार समन्वय उपसमितिको संयोजकमा प्रतिभा रावल तथा सदस्यहरूमा असिम साह, वीरेन्द्रकुमार महतो, मिलन लिम्बु (सूचना संकलन, केन्द्रीकरण र सञ्चार माध्यमसँग समन्वय) रहेका छन् ।

रास्वपाले प्रदेशस्तरमा २१ सदस्यीय प्रदेश निर्वाचन सम्पादन समिति, जिल्ला स्तरमा १५ सदस्यीय जिल्ला निर्वाचन सम्पादन समिति तथा निर्वाचन क्षेत्रस्तरमा पनि निर्वाचन सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश सभापति, जिल्ला सभापति वा उम्मेदवारले तोकेको संयोजकको नेतृत्वमा ती समितिहरू गठन गरिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई संगठित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न यी सबै समिति तथा उपसमितिहरू सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ ।

Published : Thursday, 2026 January 29, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया