विदेशी पर्यटकलाई नक्कली उद्धार कागजात तयार पारी ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विदेशी पर्यटकलाई नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सीआईबीले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल, प्रवन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्ड र सञ्चाल एवं प्रवन्धक सुभाष केसी पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जानकारी गराएको छ ।

करिब दुई महिनायताको सघन अनुसन्धानपछि उनीहरूलाई प्रक्रिया गरिएको र अरू शंकास्पदहरूको पनि अनुसन्धान भइरहेको सीआइबीका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) मनोजकुमार केसीले बताए ।

नेपालमा पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा नक्कली उद्धार कागजात बनाएर विदेशी पर्यटकहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा आफूहरूले अनुसन्धानको कामलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।

000

“ पर्वतारोहण/ ट्रेकिङ्ग क्षेत्रमा भएको Fake Rescue मा संलग्न ६ जना व्यक्तिहरु पक्राउ”
नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्दार गरेको देखाई बीमा रकम दावी गरी गैह्र कानूनी रुपमा आर्थिक लाभ प्राप्त गरेकोमा “पवर्तारोहण र ट्रेकिङको क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद आईपर्दा पर्यटकहरुलाई उद्धार (RESCUE) गर्नु पर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यू फ्लाइट सञ्चालन गर्ने कम्पनीहरु Mountain Rescue Pvt. Ltd, Everest Experience and Assistance Pvt. Ltd. र Nepal Charter Service Pvt. Ltd. ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा बीमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी गराई PASSANGER AND CARGO MANIFEST का कागजातहरुको व्यहोरा फरक र किर्ते गरी सोही अनुसारको बिल (Invoice) तयार गर्ने, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरुलाई अनिवार्य रुपमा ईन्युरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित बिभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल (Invoice) समेतका कागजातहरु (Admission & Discharge Report, Medical Reports) तयार गरी/गराई उद्दार गरिएको व्यक्तिको नामको बिमा रकमको झुठ्ठा दाबीबाट सम्बन्धित विदेशी बीमा कम्पनीहरुबाट उल्लेखित Rescue कम्पनीहरुले अन्दाजी १९.६९ Million USD रकम बीमा बापत दाबी गरी बैंक खाताहरुमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिन आएको ।
Fake Rescue सम्बन्धमा विदेशी बीमा कम्पनी, अन्तराष्ट्रिय पर्यटन सम्बन्धी संस्थाहरुले नेपाललाई “NO GO DESTINATION FOR TOURIST” भन्दै नेपाललाई पर्यटकको गन्तव्य सूचीबाट हटाउन सूचना प्रवाह गरेको, “A scam on the roof of the world” र “Stop providing cover to tourists travelling to Nepal/Silly announcement about Everest” शिर्षकमा बिभिन्न एजेन्सीहरुले समाचार सम्प्रेषण गरेको समेत देखिदा नेपालको राष्ट्रियता, स्वाभिमान, स्वाधीनता र अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच आउने कार्य भएकोले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरुमा संलग्न निम्नानुसार रेस्क्यू (उद्दार) कम्पनीहरुका सञ्चालक तथा व्यवस्थापकहरुलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमती समेत लिई मिति २०८२/१०/११ गते पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

तपसिल
१. नाम: जयराम रिमाल
संस्थाः MOUNTAIN RESCUE SERVICE PVT LTD का शेयरधनी / अध्यक्ष ।
ठेगाना: जिल्ला चितवन रत्ननगर न.पा. वडा नं.१ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, टोखा न.पा. वडा नं ०८ धापासी बस्ने ।
उमेर:- ४७ वर्ष
२. नाम:- विवेक पाण्डे
संस्थाः हाल MOUNTAIN RESCUE SERVICE PVT LTD का मेनेजर
ठेगाना: जिल्ला चितवन राप्ती नगरपालिका वडा नं ५ स्थायी वतन भएको ।
उमेर: ३२ वर्ष
३. नाम:- सुवास के.सी.
संस्थाः EVEREST EXPERIANCE & ASISTANCE PVT LTD का शेयरधनी तथा अपरेशन डिपार्टमेन्ट प्रमुख
ठेगाना: जिल्ला ललितपुर साविक छम्पी गाबिस वडा नं.०६ भई हालको गोदावरी न.पा. वडा नं. ९ बस्ने ।
उमेर: ४६ वर्ष
४. नाम: मुक्ति पाण्डे
संस्थाः EVEREST EXPRIANCE & ASISTANCE PVT LTD का शेयरधनी/अध्यक्ष र नेपाल चार्टर सर्भिसेज प्रा.लि. का शेयरधनी
ठेगाना: जिल्ला ललितपुर साविक छम्पी गाबिस वडा नं.०६ भई हाल गोदावरी नगरपालिका वडा नं. ९ बस्ने ।
उमेर:- ४२ वर्ष
५. नाम:- रबिन्द्र अधिकारी
संस्थाः NEPAL CHARTER SERVICE PVT LTD शेयरधनी तथा अध्यक्ष
ठेगाना: जिल्ला धादिङ साविक फुलखर्क वडा नं. ०१ को हाल गंगाजमुना गा.पा. वडा नं.०५
उमेर: ३९ वर्ष
६. नाम:- विवेक थपलिया
संस्थाः NEPAL CHARTER SERVICE PVT LTD का अपरेशन मेनेजर
ठेगाना:- काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं १६ बस्ने ।
उमेर:- ३९ वर्ष

Published : Sunday, 2026 January 25, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया