गगन नेतृत्वको कांग्रेसद्वारा विश्वप्रकाशको प्रस्ताव पारित, चुनाव केन्द्रित समितिहरू गठन

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नु भएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।’

‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

विशेष महाधिवेशनको नाममा भृकुटीमण्डप भेलाबाट गगन थापा सभापति बनेका छन् । उनको नेतृत्वको कार्यसमिति चयन भएको छ । थापाले आफूलाई सभापति बनाएपछि निर्वाचन आयोगले मान्यता दिएको छ । कांग्रेसको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितको ठूलो समूह बाहिरै छ ।

Published : Friday, 2026 January 23, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया