कांग्रेसका युवा नेता शाहद्वारा कपिलवस्तु ३ मा उम्मेदवारी दर्ता

चन्द्रौटा । नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले कपिलवस्तु क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसहित निर्वाचन कार्यालय पुगेर नेता शाहले मनोनयन दर्ता गराएका हुन् । कपिलवस्तु क्षेत्र नं. ३ मा लोप्रिय मानिने युवा नेता शाहले पटक पटक विजयी भइसकेका छन् ।

मनोनयन दर्ता गराएपछि नेता शाहले भने, ‘आज मैले कपिलवस्तु क्षेत्र नं ३ बाट नेपाली कांग्रेस पार्टीको आधिकारिक उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएको छु । अन्यन्त हर्षोल्लास का साथ उपस्थित सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद एवम आभार ।’

‘मनोनयन दर्तासँगै समृद्धि र परिवर्तनको अभियान औपचारिक रूपमा प्रारम्भ गरेको छु,’ नेता शाहले भने, ‘माटो, मन र मानिससँग जोडिएको यात्रालाई आजफेरि जिम्मेवारीमा रुपान्तरण गर्न लाग्दैछु ।’

‘अनुभवको गहिराइ र नयाँ पुस्ताको जोशसँगै स्पष्ट मार्गचित्र बोकेर अगाडि बढ्ने अठोट छ,’ शाहले भने, ‘भाषण होइन, समाधान, वाचा होइन, सहकार्य, यही मेरो राजनीति हो ।’

‘जनतासँगै बसेर, जनताकै बलमा, सबैका लागि काम गर्ने संकल्पका साथ आज मनोनयन गरेको छु,’ उनले भने, ‘जेनजी जति विद्रोही हो हामी पनि त्यति नै विद्रोही हो । विद्रोहीले विद्रोहीको कुरा बुझ्छ तर, अब सबै मिलेर निर्माण गर्ने बेला हो । अब हल्लाका पछि होइन सल्लाहका साथमा अगाडि बढ्ने समय हो ।’

‘युवाको जोश र पाकाको अनुभवलाई समेटेर आफ्नो आगामी यात्रा तय गर्न म हिजो आज र भोलि सदैब प्रतिबद्ध छु ।
छिटै स्पष्ट खाका सहित तपाईंहरू समक्ष उपस्थित हुनेछु,’ नेता शाहले भने ।

Published : Tuesday, 2026 January 20, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया