कांग्रेस छाडेका थापाद्वारा कपिलवस्तु २ मा रास्वपाबाट उम्मेदवारी दर्ता

तौलिहवा । कपिलवस्तु– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नेपाल प्रहरीका पूर्व एएसपी विक्रमसिंह थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट टिकटमा सिफारिस भएका थापालाई लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले टिकट नदिएपछि बाध्य भएर रास्वपामा प्रवेश गरेर कपिलवस्तु क्षेत्र नम्बर २ बाट टिकट लिएर उम्मेदवार बनेका हुन् ।

यसअघि थापा गत निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए । प्रदेश सभा निर्वाचनमा थापा पराजित भएका थिए ।

यसपटक भने थापाले रास्वपाबाट प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न लागेका छन् । थापा कपिलवस्तु २ मा लोकप्रिय मानिन्छन् ।

थापा कपिलवस्तुमा २०७१ सालमा प्रहरी प्रमुख (एसपी)को रूपमा कार्यरत रहँदा तौलेश्वरनाथ महादेव मन्दिरमा ठूलो घन्टी चढाएका थिए । सोही घन्टी अहिले उनको चुनाव चिन्ह बनेको छ । थापाले आफूले घन्टी चुनाव चिन्हबाट टिकट प्राप्त गरिसकेको जानकारी दिएका छन् ।

Published : Tuesday, 2026 January 20, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया