तनाब भएपछि गगनको सचिवालय फेक तथ्याङ्क दिन सक्रिया, महाधिवेशन प्रतिनिधिको संख्यामा छिनछिनमै कीर्ते

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा बोलाएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको संख्या बढाइचढाइ गरेर भनिएको तथ्य बाहिर आएको छ ।

आइतबार बिहान ८ बजेदेखि शुरु भएको नाम दर्तामा ११ बजेसम्म ५ सय महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका थिए । यो संख्या अस्वभाविक रुपमा यसरी बढ्यो त्यो कुनै विश्वासको तथ्याङ्क हुन सकेन । आयोजकले दिएका तथ्याङ्क समेत बाझिएर आएपछि कीर्तेहरूको कीर्ते काण्डका प्रमाणहरू बाहिरिएका छन् ।

महामन्त्री गगन थापाको सचिवालयका कर्मचारीहरू कहिले यति प्रतिशत, कहिले उति प्रतिशत भनेर मिडियालाई उल्लु बनाइरहेका छन् । उनीहरूले ४९ प्रतिशतले हस्ताक्षर गरे भन्दा जम्मा ३८ प्रतिशतको हस्ताक्षर भएको तथ्याङ्क आएको थियो । सबै मिडियाले ४९ प्रतिशत भन्दै समाचार लेखे । थापाको सचिवालयले सधैं झै मिडयालाई पंगु बनाएका छन् ।

चतुर भनेर चिनिएका थापाका सचिवालयका कर्मचारीहरूले फेक तथ्याङ्कको बाढी नै लगाएका छन् । साँझ ६ बजेतिरै ६२ प्रतिशत कट्यो भनेका थापाको सचिवालयका कर्मचारी मनोजमणि आचार्यले स्पिकर मार्फत बताएका थिए । मिडियामा फेरि धमाधम फेक तथ्याङ्कका समाचार आउन थाले ।

महामन्त्री थापाकै सचिवालयको विश्वास गर्ने हो भने पनि आइतबार राति ८ बजेसम्म २२०१ जनाले नाम दर्ता गरेका थिए । त्यो संख्या ४६.४० प्रतिशत हो । यद्यपि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको अबैधानिक विशेष महाधिवेशनमा मुस्किलले १४ सय महाधिवेशन प्रतिनिधि उपस्थिति भएको प्रमाण नेताहरूको हातमा पुगिसकेको छ ।

मिडियाहरूले अन्तिम नामावली भन्दै त्यही तथ्याङ्क सार्वजनिक गरेका थिए । ६२ प्रतिशत पुगेका सामाजिक सञ्जाल र समाचार पोर्टलहरूमा पुनः २२०१ को समाचार गएको थियो । अनि भनिएको थियो अब नामावली दर्ता बन्द भयो । एक्कासि विशेष महाधिवेशनको हवाला दिँदै २६६२ जनाले नाम दर्ता गराएको भनेर विज्ञप्ति आयो ।

नाम दर्तास्थलमा रहेको स्रोतले भन्यो, ‘२२०१ जनाको फाइनल लिष्ट आएको थियो । ८ बजेसम्म १०÷१५ जना आएर नाम दर्ता गर्न भने धेरै भए २२५० सम्म भएको थियो होला ।’ स्रोतले भन्यो, ‘युवराज पाण्डे भन्ने व्यक्तिले ६२ प्रतिशत भनेर मिडियामा समाचार आएको छ यतिले हुँदैन संख्या थपौं भने । त्यसपछि युवराज पाण्डेले नै जारी गरेको विज्ञप्तिमा २६६२ जनाले नाम दर्ता गरेको विज्ञप्ति आयो ।’

उनीहरू धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरेर भोलि सोमबार थप महाधिवेशन प्रतिनिधि तान्न चाहन्छन् । पार्टीमा सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाको गुटमा बसेर विभिन्न पद हसुर्नु हसुरेकाहरू परिवर्तनको पक्षमा भन्दै महाधिवेसनस्थल पुगेका थिए ।

अझै भोलि सोमबार पनि मान्छे बढाउन भन्दै महामन्त्री थापाको सचिवालयका सदस्यहरूले फेक तथ्याङ्क थपिरहेका छन् । यसले कांग्रेसलाई फाइदाभन्दा फुटको संघारतिर लगेको छ ।

Published : Sunday, 2026 January 11, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया