कांग्रेसबाट ९ नेताहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने ९ उम्मेदवारहरूको टुंगो लगाएको छ ।

बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका ९ उम्मेदवारहरूको नाम अन्तिम टुंगो लगाएको हो ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०८२ माघ ११ गते आइतबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८२ पौष २३ गते बसेको बैठकद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२(९) बमोजिम तपसीलका उम्मेदवार मनोनयनको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले कोशी प्रदेशमा सुनिलबहादुर थापा (धनकुटा/अन्य), मधेश प्रदेशमा धमेन्द्र पासवान (रौतहट/दलित), रन्जित कर्ण (सप्तरी/अपाङ्गता/अल्पसंख्यक), बागमती प्रदेशमा गीता देवकोटा (चितवन/महिला)लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

गण्डकी प्रदेशमा जगत तिमिल्सिना (तनहुँ/अन्य), लुम्बिनी प्रदेशमा वासुदेव जंगली (दाङ/अपाङ्गता/अल्पसंख्यक), चन्द्रबहादुर के.सी. (गुल्मी/अन्य), कर्णाली प्रदेशमा ललितजंग शाही (जुम्ला/अन्य) र सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खाती (बाजुरा/अन्य)लाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय फरमूल्लाह मंसुर र महेन्द्र यादव तथा सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., प्रवक्ता डा.प्रकाशशरण महत र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आफ्नो धारणा राखेका थिए ।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा वासुदेव जंगलीलाई उम्मेदवार बनाएर ठूलो न्याय गरेको छ । कांग्रेसको राजनीति गरेर हालसम्म अवसर नपाएका नेतामा जंगली पर्छन् ।

Published : Wednesday, 2026 January 7, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया