कांग्रेस फुटाएर कसैलाई फाइदा छैन, गगन–विश्वले बोलाएको ठाउँमा नआउनु होला : किशोरसिंह राठौर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडाजस्तै भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको बताए ।

कांग्रेसजस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको उनले बताएका छन् ।

सहमहामन्त्री राठौरले पार्टी फुट्ने सम्भावना नरहेको बताए । गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको उनले बताएका छन् ।

नेता राठौरले विशेष महाधिवेशन केन्द्रीय समितिले नभई महामन्त्रीहरूले अघि सारेको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई गगन–विश्वले गर्न लागेको विशेष महाधिवेशनमा नआउन उनले आग्रह गरेका छन् ।

उनले पार्टी फुटाएर कसैलाई फाइदा नहुने, बरु बाहिरी शक्ति र अन्य दलहरूलाई फाइदा हुने बताए । ‘अहिले यो विशेष महाधिवेशनको फन्डा ल्याउनुपर्ने जरुरी नै छैन । पार्टीभित्र त्यो परिस्थिति होइन,’ राठौरले भने, ‘हाम्रो कार्यकाल चार वर्षको हो ।’

उनले अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता नभएको बताए । उनले भने, ‘यो विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाएको होइन, महामन्त्रीहरूले बोलाएको होला, नआउनुहोला भनेर महाधिवेशन प्रतिनिधि साथीहरूलाई भनेका छौँ ।’

Published : Monday, 2026 January 5, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया