भक्तपुर कांग्रेसद्वारा विशेष महाधिवेशन खारेज, पार्टी विभाजनमा नलाग्न आग्रह

झक्तपुर । नेपाली कांग्रेस, भक्तपुरले नियमित महाधिवेशनका लागि आग्रह गर्दै पार्टी विभाजनका गतिविधिमा नलाग्न अपील गरेको छ ।

भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको बताए ।

सभापति थापाले नियमित महाधिवेशनको मिति तय नहुँदा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरूले अब नियमित महाधिवेशनको मिति आएपछि नियमित महाधिवेशन नै गर्नुपर्ने मत राख्दै हस्ताक्षर गरेको बताए ।

केवल औपचारिक कार्यक्रम मात्र नभई भक्तपुरको समग्र कांग्रेस संगठनको अनुशासन, विश्वसनीयता र नेतृत्व क्षमताको परीक्षा सरह भएको थापाले बताएका छन् ।

‘निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुनुपर्ने माग सहित गरिएको यो पत्रकार सम्मेलनले पार्टीभित्रको संस्थागत अभ्यास, लोकतान्त्रिक मूल्य र सहमतिको संस्कृतिप्रति पार्टी नेताहरूको गम्भीर चासो प्रष्ट संकेत गर्दछ’, सम्मेलनमा सभापति थापाले भने ।

भक्तपुर कांग्रेसका नेताहरूले भक्तपुर जिल्ला पार्टी समितिलाई अब ढिलाइ नगरी स्पष्ट निर्णयमा पुग्नुपर्ने, आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताएका छन् ।

Published : Monday, 2026 January 5, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया