विशेष महाधिवेशनको नाममा पार्टी फुट्छ, काठमाडौं नआउनुस्, चुनावमा लाग्नुस् : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारी भइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा नेता सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताए । उनले भने, ‘राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ । प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो ।’

सिटौलाले राष्ट्रिय सभामा अरू दलसँग कांग्रेसले तालमेल गर्नेबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले कुराकानी गरिरहेको र आज (सोमबार) बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्ने बताए ।

नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने बताएका छन् । ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’

विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि नेता सिटौलाले आग्रह गरेका छन् ।

‘हस्ताक्षर गर्नेलाई काठमाडौं नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने ।

‘हुँदैन, विशेष महाधिवेशन हुँदैन । केही विकल्पबारे मलाई थाहा छैन, विशेष महाधिवेशन हुँदैन मलाई यति चाहिँ थाहा छ,’ सिटौलाले भने ।

कार्यसम्पादनमा महामन्त्रीहरूले नोट अफ डिसेन्ट लेख्नुभएको छ, त्यसले विशेष महाधिवेशनमा लैजान सक्छ कि सक्दैन ? भन्ने प्रश्नको जवाफमा नेता सिटौलाले भने, ‘पार्टीमा सर्वसम्मत र बहुमतबाट निर्णय गर्ने गरिन्छ। निर्णय गरेपछि महामन्त्रीहरूले कार्यान्वयन गर्नुपर्छ । कार्यसम्पादनको निर्णयलाई महामन्त्रीहरूले मान्नुहुन्छ । केन्द्रीय कार्यसम्पादन बैठक हुनुअघि महामन्त्रीहरूको एउटा वक्तव्यचाहिँ पाएँ– त्यसमा केन्द्रीय कार्यसमितिको सर्वसम्मतमा विशेष महाधिवेशन गरिनेछ भन्ने थियो । बहुमतले विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचन तयारी गर्नुपर्छ भन्यो, त्यो निर्णय महामन्त्रीहरूले कार्यान्वयन गर्नुपर्छ ।’

Published : Monday, 2026 January 5, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया