अनुशासन विभागद्वारा गगन–विश्व समूहको गतिविधिमाथि निगरानी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्ने गरी गतिविधि गरिरहेका बेला केन्द्रीय अनुशासन विभागले निगरानी शुरु गरेको छ ।

पार्टीभित्र सल्लाह नै नगरेर थापा र शर्माले बिहीबार संयुक्त रुपमा सूचना प्रकाशित गरेर पुस २६ देखि २८ गते हुने भनिएको नियमित १५औं महाधिवेशनलाई स्थगित गरेका थिए । उनीहरूले विशेष महाधिवेशनका लागि भन्दै बिहीबार नै भृकुटीमण्डपमा हल बुक समेत गरेका थिए ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस पार्टी विभाजन गर्नका लागि गतिविधि गरेपछि अनुशासन विभागले निगरानी बढाएको हो ।

केन्द्रीय अनुशासन विभागको प्रमुख आनन्दप्रसाद ढुंगाना छन् । प्रमुख ढुंगानाले विशेष महाधिवेशनको नाममा भइरहेका गतिविधि र हर्कतलाई नजिकबाट नियाली रहेको विभागका सदस्यहरूले बताएका छन् । आवश्यक पर्दा पार्टी विधान विपरितका गतिविधि गर्नेलाई अनुशासनको कारबाही हुन सक्ने नेताहरूले बताएका छन् ।

महामन्त्रीद्वय थापा र शर्मासहितको समूहविरुद्ध अनुशासन विभागमा उजुरी आएमा अनुशासनको प्रचलित मापदण्ड र पार्टी विधानअनुसार कारबाही गर्ने तयारी छ ।

Published : Friday, 2026 January 2, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया