एमालेका नेता एवम् पूर्वमन्त्रीलाई भ्रष्टाचार मुद्दामा थुनामा राख्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौंले घुस लिएर भ्रष्टाचारका आरोपी पूर्वमन्त्री एवम् एमालेका नेता राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको छ । गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा मुछिएका थिए ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउनु पर्ने आदेश गरेको छ ।

असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियो त्यतिबेला सार्वजनिक भएको थियो ।

Published : Wednesday, 2025 December 31, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया