समानुपातिक सूचीमा रविलाई धरौटीमा छुट्न ३० लाख जमानत दिने ‘दानवीर’को नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा ससुरा, अर्बपति, नेपो बेबी, पूर्व मिस नेपाल, नेताका दाई लगायतलाई राखिएको भनेर आलोचना भइरहेका बेला सभापति रवि लामिछानेको जमानत बसिदिएका मनोहर प्रधानको नाम पनि समानुपातिक सूचीमा परेको छ ।

जमानतका लागि ३० लाख रुपियाँ दिए वापत सभापति लामिछानेले प्रधानलाई समानुपातिकको सूचीमा राखेको रास्वपाकै नेताहरूले बताएका छन् ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपियाँ जमानत दिएका थिए ।

उक्त मुद्दाको कुल बिगो रकम १० करोड ९९ लाख ३६ हजार रूपियाँ थियो । त्यसमध्ये लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रकम बराबरको तीन थान बैंक ग्यारेन्टी पत्र अदालतमा बुझाएका थिए ।

प्रभु बैंकको तीन थान ग्यारेन्टी पत्र बुझाएपछि रवि थुनामुक्त भएका थिए । ग्यारेन्टी पत्र दिनेमा शंकरप्रसाद श्रेष्ठ, रामानन्द घिमिरे र मनोहर प्रधान थिए ।

यी तीन जनामध्ये मनोहर प्रधान रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको आदिवासी जनजाति पुरूषतर्फ चौथो नम्बरमा छन् । प्रधान रास्वपाले समानुपातिक उम्मेदवार चयनका लागि गराएको प्राइमरी निर्वाचनमा निकै पछडि परेका थिए ।

Published : Wednesday, 2025 December 31, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया