नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाएका एसएसपी गिरीको पद धरापमा, अख्तियाद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रहरी अस्पतालमा कार्यरत एसएसपी गिरीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा भ्रष्टाचारको अभियोगपत्र दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अभियोगपत्र दायर भएसँगै एसएसपी गिरी निलम्बनमा परेका छन् ।
सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरू सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानविनको माग गरेर निवेदन परेपछि अख्तियारले छानविन गरेको थियो ।
सेवा प्रवेश र बढुवाका निम्ति एसएसपी गिरीले सन १९८८ मा बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटना, भारतबाट सेकेण्डरी स्कुल एक्जामिनेसन (एसएलसी, ईण्डिया)को शैक्षिक योग्यता मार्कसिट रोल कोड ५५०१ नं. ७१८ हालिस गरेको पेस गरेका थिए । उक्त शैक्षिक प्रमाणपत्र सम्बन्धमा बिहार विद्यालय परीक्षा समिति, पटनाबाट अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको छभन्ने जानकारी आएको अख्तियारले जनाएको छ ।
सोही शैक्षिक योग्यताको प्रयोग गरी २०५० सालमा त्रिभुवन विद्यालयबाट पीसीएल ईन नर्सिङ तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर ईन नर्सिङको योग्यता समेत गिरीले प्राप्त गरेका थिए । २०५२ पुस १६ गते नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा शुरु नियुक्ति लिइ तीनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी वरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको अख्तियारले जनाएको छ ।
एसएसपी गिरीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ का विभिन्न दफा र उपदफाहरू लगाएर सजाय मागदाबी लिइ विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया