आयोगलाई बयान दिन्न, उहाँहरूसँग बन्दुक छ, मलाई गोली ठोके हुन्छ : केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् ।

हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने बताएका छन् ।

‘आयोगले छानबिन गर्छ । नतिजा के आउँछ त्यो प्रकाशित गर्दैन,’ ओलीले भने, ‘पहिल्यै निष्कर्ष सुनाएर आउनुभएको व्यक्ति हो । मेरो नाम नै लिएर फलानालाई यसो गर्नुपर्छ भनेर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले बोल्नुभएको थियो। जब उहाँ निष्कर्ष सुनाइसक्नुभएको छभने मैले किन बयान दिने ? के विश्वासले दिने ? जाँचैविना रिजल्ट निकालिसक्नुभएको छ भने म किन जाँच दिन जाने ?’

तत्कालीन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बयान दिएन भनेर गोली हान्न पनि अन्तरिम सरकार र जाँचबुझ आयोगलाई चेतावनी दिएका छन् ।

‘बयान दिन मानेन भने गोली ठोके हुन्छ । यत्रो कसूर गर्ने बयान दिन नमान्ने,’ ओलीले भने, ‘नतिजा आइसक्यो जाँच दिन नमान्ने यत्रो कसूर गर्नेलाई त हान्दिने नी गोली । उहाँहरूसँग छ त बन्दुक ।’

‘के सानातिना कुरा गरिराखेको ? बयान नगरेबापत आजीवन थुनिदिए हुन्छ,’ पूर्वप्रधानन्त्री ओलीले भनेका छन् । जाँचबुझ आयोगका अधिकारीहरू घरमै आए उनीहरूलाई स्वागत गर्ने ओलीले बताएका छन् ।

‘घर आउनुभयो भने सम्मानसाथ स्वागत गर्छु । चिया खुवाउँछु । कुरा गर्छु पठाउँछु,’ एमालेका अध्यक्ष ओलीले भनेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले आवश्यक परेको अवस्थामा आफू उपत्यकाबाहिर जाने पनि बताएका छन् ।

उनले भने, ‘म बाहिर जान पर्दा जान्छु । भ्यालिबाहिर जान्छु । जतिबेला जानुपर्छ जान्छु । मेरो संवैधानिक अधिकारको प्रयोग गर्न असंवैधानिक सरकारसँग सोध्नुपर्ने मैले ? निर्वाचन म काभ्रेबाट लड्छु । म लड्छु रामेछापबाट, पर्वतबाट, आफ्नै निर्वाचन क्षेत्रबाट लड्छु । त्यहाँ जान नपाउने ? निर्वाचनमा आउ आउ भन्ने फेरि जान पाइँदैन भन्ने ?’

Published : Monday, 2025 December 22, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया