बागमतीका मुख्यमन्त्री बानियाँले आफ्नै खर्चबाट बनाएर दिए चेपाङ दम्पतीलाई पक्की घर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिकाको ध्रुस्राङका ५४ वर्षीय लालकुमार चेपाङ दम्पतीलाई पक्की घर बनाएर दिएका छन् ।

आइतबार मुख्यमन्त्री बानियाँले दुईवटा कोठा, भान्सा र चर्पीसहितको पक्की घर हस्तान्तरण गरेका हुन् । बानियाँले आफूले मुख्यमन्त्री वापत पाउने सेवा सुविधाको रकमबाट कैलाश–४ धुस्राङका चेपाङ दम्पतीलाई पक्की घर हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिका दुर्गम गाउँपालिका पर्छ ।

८ लाखको लागतमा घर निर्माण भएको हो । पालिकाका समाजसेवी राजेन्द्र घिसिङ र पविन चेपाङको सक्रियतामा घर निर्माण सम्भव भएको हो ।

खरको छानामा भएको कतरे घरमा बस्दै आएका चेपाङ दम्पतीलाई घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफूले पाउने सेवा सुविधाबाट घर बनाएको बताए । उनले भने, ‘मैले राजनीति गरेको धन कमाउन होइन, गरिब दुःखीको सेवा गर्नालाई हो ।’

पक्की घर पाउँदा चेपाङले खुसी हुँदै भने, ‘यस्तो पक्की घरमा बस्न पाइएला भन्ने सोचेकै थिइनँ ।’

गाउँपालिकाले छनोट गरेर सिफारिस गरेका आधारमा मुख्यमन्त्री बानियाँले पक्की घर बनाइदिएका हुन् । उनले यसअघि मनहरी गाउँपालिका–९ ज्यामिरे बारघरेकी मिठुमाया सुनारलाई पनि पक्की घर बनाएर हस्तान्तरण गरेका थिए । राक्सिराङ गाउँपालिका–१ इन्दुङका सुमनसिंह चेपाङका लागि पनि घर निर्माणाधीन अवस्थामा छ ।

Published : Sunday, 2025 December 21, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया