संसद पुनःस्थापनाको पक्षमा कांग्रेसका ५७ सांसदको हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसका ५७ जना सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाका लागि हस्ताक्षर गरेका छन् ।
तीन दिनदेखि भइरहेको हस्ताक्षरमा आइतबार कांग्रेसका ५७, जनमतका दुई र एक स्वतन्त्र गरी ६० सांसदको हस्ताक्षर भएको छ । यसअघि नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङसहित सात सांसदको संयुक्त हस्ताक्षरबाट रिट दायर गरिएको थियो । उनीहरूसमेत गर्दा कांग्रेसबाट प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने तत्कालीन सांसदहरूको संख्या ६४ जना पुगेको छ ।
यसअघि कांग्रेसका तत्कालीन प्रमुख सचेतक र सचेतकसहित सात सांसद र एमालेबाट तत्कालीन मुख्य सचेतक र सचेतकका तर्फबाट प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी छुट्टाछुट्टै रिट दायर भएको थियो ।
संसद पुनःस्थापनाको हस्ताक्षरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेका छैनन् । उनीहरू निकटका सांसदहरूले भने हस्ताक्षर गरेका छन् ।
कांग्रेस संसदीय दलमा भइरहेको हस्ताक्षरमा जनमतका दुई सांसद र एकजना स्वतन्त्र सांसदले समेत हस्ताक्षर गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीका चार जना तत्कालीन सांसदले समेत पुनःस्थापनाको पक्षमा सोमबार हस्ताक्षर गर्न पठाउने बताएको कांग्रेसका एक नेताले बताएका छन् । नागरिक उन्मुक्ति पार्टीका सांसदले पनि हस्ताक्षर गर्ने जनाउ दिएका छन् ।
एमालेले आफ्ना ७५ जना तत्कालीन सांसदको हस्ताक्षर भइसकेको दाबी गरेको छ । कांग्रेसका ६४ र एमालेका ७५ गर्दा १४० संख्या पुग्छ । पूरक निवेदन दिने समयसम्म अरु साना दलका समेत गर्दा १ सय ५० जना तत्कालीन सांसदहरूको हस्ताक्षर पुग्ने दाबी कांग्रेस र एमालेका नेताहरूले गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया