सह–सचिव भट्टराईसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ जनालाई सम्पत्ति शुद्धीकरण पनि
काठमाडौं । भिजिट भिसा प्रकरणमा सह–सचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले विशेष अदालत, काठमाडौंमा भट्टराईसहितका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । उनीहरूलाई भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग घुस रिसवत लिएको आरोप छ ।
आयोगले सहसचिव भट्टराईसँग ७९ लाख ८० हजार बिगो र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन) को दफा ३ को उपदफा ९१० को देहाय (च) बमोजिम कैद समेत माग गरेको छ ।
तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसँग ८ लाख, ग्रिनलाईज होलिडेज कम्पनी र उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्कासँग ३० लाख २० हजार र फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्सका संस्थापक सेयर सदस्य दीपक भण्डारीसँग १० लाख ६० हजार बिगो माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले ग्रिनलाइन होलिडेजका तत्कालीन संस्थापक सेयर सदस्य राम खड्कासँग ३० लाख २० हजार, कविता पौडेलसँग ७९ लाख ८० हजार र खेमप्रसाद सुवेदीसँग ७९ लाख ८० हजार रुपियाँ बिगो माग गर्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगले सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको छ । भिजिट भिसा प्रकरण अन्तर्गत भिजिट भिसामा विदेश जाने नेपालीसँग घुस लिएको आरोपमा मुद्दासँग सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध अख्तियारले विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको हो ।
अख्तियारले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा तत्कालीन समयमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सम्हालेका सहसचिव भट्टराई, पौडेल र सुवेदी तीन जनाविरुद्ध समान बिगो माग गर्दै विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
अख्तियारले ती तीनै जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६ सय बिगो माग गर्दै सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरेको छ । अख्तियारले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) बमोजिमको कसूरमा सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको’ जनाएको छ । सहसचिव भट्टराईको हकमा दोब्बर सजाय समेत अख्तियारले माग गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया