नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले पदभार ग्रहण गरेकी छिन् ।
बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित संघको कार्यालयमा अध्यक्ष कार्कीले पदभार ग्रहण गरेकी हुन् । कार्कीलाई संघको कार्यालयमा स्वागत गरिएको थियो ।
संघकी नवनियुक्त अध्यक्ष कार्कीले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्न पाउँदा आफूलाई जिम्मेवारबोध भएको बताएकी छिन् । उनले आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको बताइन् ।
अध्यक्ष कार्कीले संघले सम्पादन गर्दै आएका कार्यहरूको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ उर्जाशील र सुदृढ बनाउन प्रभावकारी ढङ्गले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रममा स्वागत मन्तव्य संघकी कोषाध्यक्ष श्रीमती संगीता लम्सालले दिएकी थिइन् । कार्यक्रम सञ्चालन सह–सचिव (कार्यक्रम) श्रीमती मञ्जु शर्माले गरेकी थिइन् ।
नवनियुक्त अध्यक्ष कार्कीले संघमा रिक्त रहेको कार्यसमितिको पदहरूमा समेत पदपूर्ति गरेकी छिन् ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष, सल्लाहकार, कार्यसमितिका पदाधिकारी, आसरा सुधार केन्द्रका पदाधिकारी, साधारण सदस्य, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया