पोखराको ८ अर्ब ३६ करोड भ्रष्टाचारमा प्रदीपसँग ५ लाख धरौटी माग, छुट्न नपाउने

काठमाडौं । विशेष अदालत, काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्वित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपियाँ धरौटी माग गरेको छ ।

अधिकारीले धरौटी बुझाइ हाले पनि तत्काल थुनामुक्त हुन पाउने छैनन् । मंगलबार विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा अधिकारीसँग ५ लाख र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपियाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको छ ।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र भण्डारीसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दामा उनीहरूसँग ८ अर्ब ३६ करोड रुपियाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।

निलम्वित महानिर्देशक अधिकारी डिल्लीबजार कारगारमा छन् । पोखरा विमानस्थलको मुद्दामा माग गरेअनुसार ५ लाख धरौटी बुझए पनि पनि अधिकारी कारागारभित्रै रहनेछन् । बाहिर आउ पाउने छैनन् ।

विशेष अदालतले आइतबार भक्तपुरको नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अधिकारी डिल्लीबजार कारागारमा छन् ।

हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीसहित ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको थियो ।

यसअघि, पूर्वनिर्देशक मुरारी भण्डारी भने नलिञ्चोक हेलिपोर्ट मुद्दामा ५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए । पोखराको मुद्दामा भण्डारीसँग एक लाख रुपियाँ धरौटी माग गरिएको छ ।

Published : Tuesday, 2025 December 9, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया