सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईंसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै दश लाख बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शिवालय गाउँपालिकाअन्तर्गत चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको बैंक खातामा रहेको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उपभोक्ता समूहका पदाधिकारीहरूले आफूखुसी रकम निकासा गरी खर्च रकमको सक्कली बिल भरपाई नराखी रकम हिनामिना भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा उक्त उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दमाईंका साथै सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी रानाले विभिन्न मितिमा समितिको नेपाल बैंकको खातामा रकम हिनामिना गरेको खुलेको आयोगले जनाएको छ । आयोगले लेखापरीक्षक भोजराज शर्मा पाण्डेलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले अध्यक्ष दमाईं र कोषाध्यक्ष रानाविरुद्ध ९ लाख ६५ हजार ८७३ रुपियाँ र सचिव रानाविरुद्ध ८ लाख ४० हजार ८७३ रुपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

लेखापरीक्षक पाण्डेलाई पनि कैद र जरिवाना दुवै सजायको मागदाबी आयोगले गरेको छ ।

Published : Monday, 2025 December 8, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया