सिक्रेदोभानको पुल वैशाखभित्रै बन्छ, पूर्वाधार विकासले नागरिकको जीवनस्तर माथि उठ्छ : मुख्यमन्त्री बानियाँ

सिक्रेदोभान । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पूर्वाधार विकास नहुँदासम्म नागरिकको आर्थिक जीवनस्तर माथि उठ्न नसक्ने बताएका छन् ।

सोमबार काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सडक, पुल, बिजुलीजस्ता पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘सडक, पुल, बिजुली जस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले परिवर्तनको अनुभूति गराउन सकिँदैन,’ उनले भने, ‘त्यसैले मेरो नेतृत्वको सरकारको ध्यान पूर्वाधार विकासमा रहेको छ ।’

मुख्यमन्त्री बानियाँले खानीखोला गाउँपालिका क्षेत्रका नागरिकको जीवन सहज बनाउन सिक्रेदोभानको पुल र गत असोजमा बागमती नदीले कटान गरेको सात सय मिटर बाटो निर्माण गरिने बताए ।

त्यसअघि मुख्यमन्त्रीले सिक्रेदोभान पुलको अवलोकन गरी आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।

प्रदेशलाई विकासको पर्याय बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री बानियाँले नदीले कटान गरेको बाटो निर्माणका लागि तत्कालै बजेट उपलब्घ गराउने परतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङलगायत पालिकाका कर्मचारीहरूको उपस्थिति थियो ।

Published : Monday, 2025 December 8, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया