तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप हुने
ललितपुर । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा हुने ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबारदेखि शुरु भई पाँच दिनसम्म चल्नेछ । टिम स्पर्धामा २ हजार रेटिङमाथिको एक तथा अन्य चार गरि ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् ।
स्पर्धामा नेपालका २४ टिमको सहभागिता सुनिश्चित भएको छ । जसमध्ये आयोजक ललितपुर स्पोट्र्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होम रहेका छन् ।
भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदुरपश्चिम बुद्धिचाल संघ, मेची नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिका रहेका छन् ।
युथ स्टेपस् टुवार्थ चेञ्ज, पूर्वेली ब्रदर्श टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौं चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब, दोलखा जिल्ला बुद्धिचाल संघ रहेका छन् ।
ललितपुरको कुमारी पाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ ।
उपविजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौंथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन् । पाँचौंदेखि सातौं सम्मका टिमले समान २० हजार तथा व्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन् ।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय चेस प्रतियोगिता बाग्मती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा नियमित सञ्चालन भइरहेको अवगत गराउँदै समाचार संप्रेषण गरिदिन सबै सञ्चारकर्मीहरूमा अपील गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया