ललितपुर महानगरपालिकाले उत्कृष्ट काम गरेको छ : मेयर महर्जन

पुल्चोक । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले सबै नगरपालिकाभन्दा राम्रो काम गरेको बताएका छन् ।

शुक्रबार २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको बताए । उनले राम्रो काम गरेका कारण नै ललितपुर महानगरपालिकाले वर्ष २/३ वटाभन्दा बढी राष्ट्रियस्तरका पुरस्कार पाउने गरेको बताए ।

सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भूमिका रहेको उनले बताएका छन् ।

मेयर महर्जनले भने, ‘हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन । तर, आमनेपाली दाजुभाइ दिदीबहिनीहरू चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकालीको किन नहोस्, ललितपुर महानगरपालिका भन्नासाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ ।’

‘हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २/३ वटा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अस्तिको दिनमा मात्रै संघीय सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ ।’

‘यो पुरस्कार पाउनु भनेको पनि टिम वर्कको परिणाम हो । हामी जसरी सफलीभूत भइरहेका छौँ, यसका लागि पनि यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद भन्न चाहेँ । हामी जे बोल्छौँ, त्यो पूरा गर्छौं,’ मेयर महर्जनले भने ।

Published : Saturday, 2025 December 6, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया