भदौ २३ र २४ को घटना र सेनासँग मेरो नाम जोडेकोमा गम्भीर ध्यानाकर्षण भएको छ : सुनिल थापा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सल्लाहाकार एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले केही अनलाइन सञ्चारमाध्यमले आफूलाई भदौ २३ र २४ गतेको घटनामा जोडेर समाचार प्रकाशित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पूर्वमन्त्री थापाले भदौ २३ र २४ गतेको घटना तथा नेपाली सेनासँग जोडेर आफ्नो विषयमा आएको समाचारहरूमा कुनै सत्यता नरहेको बताए । उनले भने, ‘गत भदौ २३ र २४ गते भएको घट्ना र नेपाली सेनाका सन्दर्भमा मेरो नाम जोडेर केही अनलाइन सञ्चार माध्यमले गरेको समाचार प्रकाशनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
पूर्वमन्त्री थापाले भने, ‘म लोकतन्त्र, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्छ भन्नेमा दृढ छु ।’
‘त्यसको लागि सामान्य अवस्थामा मात्र होइन जस्तोसुकै सङ्कट आईपर्दा पनि राष्ट्रको सर्वोपरी हित, राष्ट्रिय एकतालाई मजबुद बनाउँदै सबै नेपालीको विश्वास र भरोसाको रुपमा नेपाली सेना रहेकोमा कुनै शंका छैन भन्नेमा म स्पष्ट छु,’ उनले भने ।
‘पेशागत व्यावासयिक मूल्य मान्यता, सार्वभौमसत्ता र राष्ट्रियताको सन्दर्भमा नेपाली सेनाले देखाएको दृढ एवम् निष्कपट छवि इतिहासदेखि वर्तमानसम्म हाम्रासामु छर्लङ्ग छ,’ थापाले भने ।
‘गत भदौ २३ र २४ गतेका सन्दर्भमा नेपाली सेनाले सङ्कट समाधानमा देखाएको अग्रसरताको देश विदेशमा समेत प्रशंसा भएको सन्दर्भमा यस्तो एउटा संस्थालाई जोडेर कपोलकल्पित, असान्दिर्भक, भ्रमपूर्ण एवं चरित्र हत्या गर्ने कुत्सित मनसायले यस्तो समाचार प्रकाशन गर्नु दुःखद् हो,’ पूर्वमन्त्री थापाले विज्ञप्तिमार्फत भनेका छन् ।
‘यसमा मेरो नाम र मसँग सम्बन्धित संस्थासमेत जोडेर भ्रम सृजना गर्न खोजिएकोप्रति खेद प्रकट गर्दछु,’ पूर्वमन्त्री थापाले भनेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया