नेविसंघको महामन्त्री जस्तो नगर्नुस् गगन-विश्वजी, विशेष महाधिवेशन ढोंगी कुरा हो : नेता कर्ण
काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हुन नसके लोकतन्त्रमाथि ठूलो प्रहार हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षत्कारमा बोल्दै कर्णले भने, ‘यो संविधान गुम्यो भने लोकतन्त्र गुम्छ, यो संविधान गुम्यो भने मुलुकको राष्ट्रियता गुम्ने सम्भावना हुन्छ ।’
‘संविधान गुम्यो नेपालको आर्थिक र सुशासन अवरुद्ध हुन्छ । नेपाली कांग्रेस फागुन २१ गतेको निर्वाचनको लागि प्रतिबद्ध छ,’ उनले भने, ‘अस्तिको पार्टीको केन्द्रीय समितिको निर्णयबाट पनि नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनतर्फ लागिसकेको छ । कांग्रेस अब दायाँबायाँ लाग्दैन भन्ने सन्देश दिइसकेको छ ।’
नेता कर्णले कांग्रेस निर्वाचनको लागि अब एकढिक्का भएर अघि बढ्ने बताए । उनले अब कांग्रेसको नीति र नेतृत्वको कुरा नियमित महाधिवेशनबाट मात्रै सम्पन्न हुने बताए ।
उनले भने, ‘नियमित महाधिवेशनबाहेक अरू कुनै विकल्प छैन । यो सम्भव छ । नियमित महाधिवशेन भएपछि पार्टीको नेतृत्व पनि चेञ्ज हुन्छ । चरित्र पनि चेञ्ज हुन्छ ।’
अहिलेका पदाधिकारी साथीहरूले आफू कसरी बन्ने भनेर सोँचेको कारण जेनजी आन्दोलनपछि पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे बहस हुन नसकेको नेता कर्णले बताएका छन् ।
‘अहिलेपनि समय छभने नियमित महाधिवेश गरोस् । विशेष महाधिवेशन भयो भने एउटा युवा पुस्तालाई निषेध हुन्छ,’ कर्णले भने, ‘पुरानै महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन हुने भएकाले वडा तहदेखि केन्द्र तहसम्म कुनै खास परिवर्तनको आभाष हुँदैन । विशेष महाधिवेशन ढोंगी कुरामात्रै हो ।’
नेता कर्णले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवार बन्न सुझाव दिएका छन् । उनले भने, ‘तपाईंहरू अब नेविसंघको महामन्त्री होइन नि ! तपाईहरू नेपाली कांग्रेसको महामन्त्री हो । यो थर्काउने, घुर्काउने र धम्काउने कुरा छोडेर नेपाली कांग्रेसलाई मूलधारमा कसरी लिएर जाने भन्ने कुरा उहाँहरूको जिम्मेवारी पनि हो ।’
‘उहाँहरू बाहिर मिडियामा बोल्नुहुन्छ, म चुनाव उठ्दिनँ भन्नुहुन्छ, यस्तो वाहियात कुरा नगर्दा हुन्छ,’ नेता कर्णले महामन्त्रीद्वय थापा र शर्मालाई भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया