नेपालको राजनीतिक परिवर्तनका कारण एनआरएनएमा बृहत् एकता अत्यावश्यक भयो : उपाध्यक्ष सुनिल साह
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष सुनिल साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भइसकेको बताएका छन् ।
आफू सधैँ सहमतिको पक्षमा, जहिले पनि मिल्नु पर्छ भन्ने पक्षमा रहेको साहले बताए । ‘नेपालको अहिलेको परिस्थितिमा हामीले पुनर्निर्माणमा सहयोग गर्नु पर्नेछ । एनआरएनएले काठमाडौंस्थित ट्राफिक प्रणालीको पुनर्निर्माणमा सहयोग गरेको छ । हामी एकताबद्ध भयौँ भने अझ बलियो सहयोग गर्न सक्छौँ,’ उनले भने ।
उनले भने, ‘सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले गत मे महिनामा महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । त्यसैले हाम्रो भनाइ चाहिँ एकता महाधिवेशनको म्यान्डेट अनुसार नै सहमति हुनु पर्छ भन्ने हो ।’
‘एनआरएन नागरिकताको कार्यान्वयनको लागि, नेपालको विकास र समृद्धिको लागि पनि हामी मिलेर गयौँ भने मात्र हामीले आफ्नो लक्ष प्राप्त गर्न सक्छौँ,’ उनले भने ।
एनआरएनएलाई एकताबद्ध बनाउन एनसीसी अमेरिकाको गहन भूमिका रहने बताउँदै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष रहीसकेका साहले एनसीसी र केन्द्रमा पनि एकता कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको जनाएका छन् ।
एनआरएनएका केन्द्रीय अध्यक्ष महेशकुमार श्रेष्ठको नेतृत्वमा गत १ नोभेम्बरमा तयार गरिएको सहमति पत्रको मस्यौदाले एनआरएनएलाई पुनः साझा मञ्चमा ल्याउने इमानदार प्रयास गरेको बताए ।
उपाध्यक्ष साहले मस्यौदाले एनआरएनएलाई मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैर राजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जनाएका छन् ।
‘एनआरएनएको १०औँ महाधिवेशनपछि गठित विभिन्न समितिहरूको अस्तित्वलाई स्वीकार गर्दै विगतमा एनआरएन अभियन्ताहरूको योगदानलाई पनि हामीले सम्मान गर्नु पर्दछ,’ उपाध्यक्ष साहले भने ।
‘अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिमा फिर्ता लिएर संस्थागत एकताको दिशामा ठोस कदम चल्न सकिन्छ,’ उनले भने ।
‘एनआरएनए कुनै व्यक्ति वा समूहको मात्रै सङ्गठन होइन, यो विश्वभरका नेपालीहरूको साझा संस्था हो,’ साहले भने, ‘त्यसैले व्यक्तिगत इगो र विगतका तीतामीठा घटनाक्रमलाई बिर्सेर संस्था र मातृभूमिको सर्वोपरि हितका लागि एकताबद्ध हुनुको विकल्प छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया