विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जामन्त्री घिसिङ

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन् ।

आइतबार महेश श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाएको बताए ।

घिसिङले गृह मन्त्रालयले हाल दुई महत्वपूर्ण विषय एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य गरिरहेको बताए । उनले निर्वाचन आयोगसँग निरन्तर छलफल भइरहेको उल्लेख गरेका छन् ।

मन्त्री घिसिङले भने, ‘विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको भोटिङ राइट्स कार्यान्वयनका लागि अध्यादेश जारी गर्न सरकारले काम गरिरहेको छ । निर्वाचन आयोगबाट समयाभावको कुरा आएको छ । कुनै पनि हालतमा विदेशमा रहेका नेपालीले भोट गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ ।’

मन्त्री घिसिङले मतदानका लागि खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षासम्बन्धी पक्ष र त्यहाँका सरकारसँगको सहकार्यसम्बन्धी चुनौतीहरूबारे पनि जानकारी दिएका छन् । ‘राष्ट्रभक्ति देखाउने भनेका विदेशमा रहेका नेपाली नै हुन् । त्यसैले यो अधिकार कार्यान्वयनका लागि राष्ट्रपतिसमक्ष समेत आफ्नो धारणा राखेको छु,’ मन्त्री घिसिङले भने ।

ब्रिटिस गोर्खाहरूले उठाउँदै आएका वंशजको नेपाली नागरिकताको निरन्तरताबारे मन्त्री घिसिङले लन्डनमै आफूले उक्त मागको स्पष्ट रूपमा समर्थन गरेको स्मरण गरेका छन् ।

‘वंशजको नागरिकताको निरन्तरताले देशलाई घाटा होइन, फाइदा गर्छ । लगानी बढ्छ । सरकारले गम्भीर रूपमा हेर्नुपर्छ,’ उनले भने ।

दोहोरो नागरिकताको विषय भने निर्वाचित संसदले मात्र सम्बोधन गर्न सक्ने उनले बताए । मन्त्री घिसिङले गैरआवासीय नेपालीको सीप, स्रोत र लगानीलाई देशमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै गैरआवासीय नेपालीबिच एकता र साझा एनआरएनए निर्माण गर्न पनि आग्रह गरेका छन् ।

एनआरएनए आइसिसीका अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने कार्यमा अब ढिलाइ गर्न नहुने बताए । ‘यस पटक नभए पनि अर्को पटक अनिवार्य रूपमा लागू गर्नै पर्छ। पाइलट प्रोजेक्टबाट भए पनि सुरु गर्नुपर्छ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकता तथा त्यससँग सम्बन्धित समस्याहरू समाधानका लागि नियमावली निर्माण गर्ने काम अघि बढाउनुपर्ने उल्लेख गरेका छन् । ‘गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न सके धेरै समस्या समाधान हुन्छ,’ उनले भने ।

एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले आफू गैरआवासीय नेपाली नागरिकता लिने पहिलो व्यक्ति भएको स्मरण गर्दै नागरिकता लिएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि यसको कार्यान्वयन नभएको बताए ।

‘एनआरएन नागरिकतालाई नेपालको कुनै प्रणालीले चिन्दैन । यसले देशलाई घाटा पु¥याइरहेको छ । पुँजी पलायन बढेको छ, लगानी रोकिएको छ,’ आचार्यले भने । उनले मन्त्रिपरिषदलाई अध्यादेशमार्फत समस्या समाधान गर्न आग्रह गर्दै एनआरएन नै नेपाल समृद्धिको प्रमुख आधार बन्न सक्ने बताए ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले वंशजको नेपाली नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपालले वैदेशिक लगानी आकर्षित गर्ने भने पनि गैरआवासीय नेपालीलाई नेपालमै लगानी गर्न सहज वातावरण बनाउन नसकिएको उल्लेख गरेका छन् ।

‘विश्वका १२३ देशले दोहोरो नागरिकता दिन्छन् । नेपालमा पनि दिन सकिन्छ,’ उनले भने । वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरेले गैरआवासीय नेपाली ऐन २०६४ मा रहेका त्रुटिका कारण समस्या जटिल बनेको बताउँदै एकीकृत अध्यादेश वा कम्तीमा मतदान कार्यविधि बनाएर नै अघि बढ्न सकिन्छ भनेका छन् ।

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष डा.केशव पौडेल, अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसी, एनआरएन नागरिकता लिएका सुरेशराज गौतम, राधा पौडेललगायतका वक्ताले एनआरएन नागरिकतालाई व्यावहारिक रूपमा लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘यो याचना होइन, अधिकार हो,’ राधा पौडेलले भनिन् । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा.यादव पण्डितले भने, ‘एनआरएनसम्बन्धी मुद्दाहरूको कुरा गर्दा प्रशासन यन्त्र तथा नेताहरू सबै सहमत देखिन्छन् । बारम्बार हामीलाई चिट भएको अनुभव भएको छ । मन्त्रिपरिषदले निर्णय गरी दियो भने पनि समस्या समाधान भई हाल्छ, अध्यादेश ल्याउनु पनि पर्दैन । मन्त्रीजीलाई यो अवसर पनि हो । हामी कतिपयले अझै नेपाली नागरिकता बोकी रहेका छौँ । बेलायत र अमेरिकाका नेपाली नागरिकहरूलाई दूतावासमा गएर मतदान गर्ने वातावरण बनाउन आग्रह गर्दछु ।’

संघका उपाध्यक्ष विश्वासदीप तिगेला, सल्लाहकार विष्णु सुवेदी, एनआरएनए एनसीसी थाइल्यान्डका सञ्जय ढकाल, एनआरएनए युकेका प्रवक्ता डा.कुलप्रसाद कँडेल लगायतले जेनजी आन्दोलनबाट आएको सरकारले साहसिक निर्णय गर्दै गैरआवासीय नेपालीका माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा राज आचार्य, रीतादेवी प्रधान, विनय शाह, आङ्गछिरिंग शेर्पा लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए । एनआरएनए आइसिसीका उपाध्यक्ष तथा नागरिकता निरन्तरता समितिका संयोजक बुद्धिसागर सुवेदीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीको सम्पत्ति तथा लगानी नेपालले उपयोग गर्न नसकेको बताए । उनले भोटिङ अधिकार तुरुन्त कार्यान्वयन गर्नुपर्ने र वंशजको आधारमा नागरिकता सुनिश्चित गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् ।

एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष तथा समितिका सदस्य सचिव दीपक गौतमले सञ्चालन गरेका थिए भने एनसीसी फ्रान्सकी पूर्व अध्यक्ष गीता खनाल थापाले सबैलाई स्वागत गरिन् । संघका पूर्वअध्यक्ष आरके शर्माले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश पठाएका थिए ।

Published : Monday, 2025 November 24, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया