देउखुरीका विद्यार्थी बोकेको बस पाल्पामा दुर्घटना, नवलपुरमा पनि बस दुर्घटना
तानसेन । पाल्पा जिल्लामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
शुक्रबार बिहान ६ बजे ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरमा दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको छ । घाइते सबै दाङका हुन् ।
दाङको देउखुरीस्थित राजपुर गाउँपालिकामा रहेको नमूना माध्यामिक विद्यालयका विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको बस अचानक आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
बस दुर्घटना भएको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट, रानीमहलबाट प्रहरी टोली खटिएर घाइतेहरूको उद्दार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित मिशन अस्पतालमा पठाइएको छ ।
घाइते हुनेहरूमा राजपुर गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४० का शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका वडा नं. ११ बस्ने बर्ष २२ का दामोदर रेउले, बस चालक घोराही– १४ बस्ने बर्ष ३५ का सन्तोष ढकाल, राजपुर– ५ बस्ने बर्ष १२ की सन्ध्या भण्डारी, राजपुर– ६ बस्ने बर्ष १८ की दिलकुमारी रावत रहेका छन् ।
राजपुर– ६ बस्ने बर्ष १० की सन्तोषी चौधरी, राजपुर– ६ बस्ने बर्ष १९ का अजय नेपाली, राजपुर– ५ बस्ने बर्ष २३ की सृजना यादव, राजपुर– ५ बस्ने बर्ष १३ का आयुष भण्डारी, राजपुर– ५ बस्ने वर्ष १५ का अभिषेक यादव, घोराही– ९ बस्ने वर्ष ३५ का बसन्त योगी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस शुक्रबार मध्यविन्दु नगरपालिका वडा नं. ८ खजुरी खोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक मधु नेपालले दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको बताएका छन् ।
प्रहरी चौकी, तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको छ । बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया