जेनजी समूहहरूद्वारा प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउँदै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

काठमाडौं । विभिन्न २३ वटा जेनजी समूहहरूले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

सुशीला सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गरेर राष्ट्रपतिसमक्ष जेनजी समूहहरूले बिहीबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूले बताएका छन् ।

आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति समक्ष उनीहरूले आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो । यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन । तसर्थ हामी उक्त विद्रोहमा संलग्न २३ जेनजी अलायन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्नु पर्दछ ।’

‘अन्यथा यदि सरकारले विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

२३ वटा जेनजी समूहले ज्ञापनपत्रमा अन्यथा वर्तमान सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री कार्कीलाई हटाउन माग गरेर ज्ञापन पत्र बुझाउने समूहहरूमा (१) जेन्जी नेशनल फ्रन्ट लाइनर, (२) जेन्जी स्पार्क, (३) एन. टेक जेन्जी, (४) ऋणी एसोसियसन नेपाल, (५) जेन्जी वाइ यूनाइटेड, (६) जेन्जी सभा, (७) जेन्जी पार्लियामेन्ट, (८) जीबीबी ग्रुप, (९) जीयूपीसी ग्रुप, (१०) जेवाइएन ग्रुप, (११) जेन्जी यूनाइटेड, (१२) जेन्जी २.०, (१३) रियल जेन्जी रहेका छन् ।

ज्ञापनपत्र बुझाउनेमा (१४) जेन्जी वाइ ग्रुप, (१५) जेन्जी एलायन्स, (१६) नेपाल जेन्जी रिभ्यूलेसन (एनजीआर), (१७) इक्वीटी नेपाल, (१८) समता जेन्जी, (१९) अल नेशन जेन्जी, (२०) स्वतन्त्र जेन्जी नेपाल, (२१) डिजिटल टास्क फोर्स जेन्जी ग्रुप, (२२) जेन्जी एकता मञ्च र (२३) जेन्जी मुभमेन्ट नेपाल पनि रहेका छन् ।

Published : Thursday, 2025 November 20, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया