प्रसुति केन्द्रको भवन बनाउँदा १५ लाख भ्रष्टाचार

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ स्थित प्रसुति केन्द्रको भवन निर्माणमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले विशेष अदालत, काठमाडौंमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंह, ईञ्जिनियर, सब–इन्जिनियर तथा उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भवनको तोकिएअनुसार काम पूरा नगरी १५ लाख ८ हजार ५ सय ५७ रुपियाँ हिनामिना गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार आल्मुनियमको झ्याल र ढोका राख्नुपर्नेमा स्थानीय काठ प्रयोग गरेको, सिमेन्टको गारो लगाउनुपर्नेमा सुख्खा ढुङ्गा मात्र प्रयोग गरेको र छाना तथा सिलिङको काम नै नगरी कार्य सम्पन्न प्रतिवेदन बनाएर सरकारी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

निर्माण मापदण्डविपरीत बनेको भवन अहिले प्रयोगविहीन भई भग्नावशेष अवस्थामा पुगेको छ । तत्कालीन कार्यालय प्रमुख सिंह, ईञ्जिनियर सुनेशकुमार चौरसिया, सब–ईञ्जिनियर नरेश रावतसहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध जनही १५ लाख ८ हजार ५ सय ५७ रुपियाँ बिगो कायम गरी बिगो असुल र कैद सजायको माग आयोगले गरेको छ ।

Published : Thursday, 2025 November 20, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया