शिक्षक नियुक्तिमा घुस लिएपछि प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा घुस लिएको भन्दै रौतहटको विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर हुने अर्का व्यक्तिमा राजदेवी नगरपालिका–७ वतन भएका अरविन्दप्रकाश साह कानु रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानाध्यापक सञ्जय प्रसादले कानुसँगको मिलोमतोमा जय किसान माध्यमिक विद्यालयमा मावि तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि दरखास्त दिएका सेवाग्राहीसँग परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाई दिने भनी चार लाख ५० हजार रूपियाँ घुस लिएको आयोगले जनाएको छ ।

विभिन्न बहाना बनाई घुसबापत ४ लाख ५० रूपियाँ लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

Published : Wednesday, 2025 November 19, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया