अन्तरिम सरकारका मन्त्री खरेलद्वारा एमाले नेतृ भण्डारीसँग भेट

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

सोमबार पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा उनीहरूका बीच मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको स्रोतले जनाएको छ । सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा एमाले नेतृ भण्डारीलाई जानकारी गराएका छन् ।

सञ्चारमन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको अवगत गराएका छन् ।

आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरू सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरुप सरकारले निर्वाचनको सुरक्षालगायत तयारी गरिरहेको बारे सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल भएको छ ।

एमाले नेतृ एवम् पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गरेकी छिन् । उनले सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्ने बताएकी छिन् ।

Published : Monday, 2025 November 17, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया