नयाँपुस्ताको भावनाअनुरुप कार्यसम्पादन गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावनाअनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित एसएमटी बैठकमा गृहमन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

अर्यालले भने, ‘अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ ।’

उनले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गर्न निर्देशन दिँदै सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूति दिलाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको नेतृत्व ग्रहण गरेयता राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायतका लगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली अन्तिम चरणमा पुगेको गृहमन्त्री अर्यालले बताएका छन् ।

Published : Sunday, 2025 November 16, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया