नेपाली महिलालाई चीनमा बिहेको नाममा तस्करी गर्ने चार चिनियाँ नागरिक पक्राउ
काठमाडौं । शंकास्पद गतिविधि गरेको आरोपमा चारजना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।
व्यावसायिक भिसामा नेपाल बसेर गैरकानूनी कार्य गरेका चार चिनियाँ नागरिकहरूलाई शुक्रबार पक्राउ गरिएको विभागले जनाएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको विभागका प्रवक्ता टीकाराम ढकालले बताएका छन् ।
काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट उनीहरूलाई नियन्त्रणमा लिएको ढकालले बताए । ठूलो संख्यामा चिनियाँ नागरिक बस्दै आएको स्थानलाई चाइनिज हाउजिङका नामले समेत चिनिन्छ ।
व्यावसायिक भिसा लिए पनि उनीहरूलाई आफ्नो व्यवसाय, कम्पनीको नाम र सो सम्बन्धमा अन्य कुनै पनि जानकारी नभएको पाइएको छ ।
उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारेर सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत् अन्य चिनियाँसँग साथी बनाइ बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपाली युवतीहरूलाई चीनमा लगेर विवाह गर्ने भनि चीनसमेत पठाएको जानकारी प्राप्त भएको पनि अध्यागमन विभागले जनाएको छ ।
म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीहरू राख्ने र विभिन्न मुलुकमा लैजाने गरेको पनि पाइएको छ । नियन्त्रणमा लिइएकामध्ये दुई जना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएको खुलेको छ ।
भिसा जाँच गर्ने क्रममा उनीहरूले पासपोर्ट र भिसा देखाउन नसकेको तथा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरूलाई दुर्व्यवहार गरेको ढकालले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया