स्काउटको भाडा विवाद र खडका ल्याण्डसँग मेरो सम्बन्ध छैन : कांग्रेस नेता खड्का

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् निवर्तमान उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ‘खडका ल्याण्ड डेवलपमेन्ट प्रा.लि.’सँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।

बिहीबार नेता खड्काले प्रेस विज्ञप्ति जारी गरेर नेपाल स्काउटको भाडा विवादमा सम्बन्ध नै नरहेको ‘खडका ल्याण्ड डेवलपमेन्ट प्रा.लि.सँग जोडेर आएका समाचारहरूको खण्डन गरेका हुन् ।

कांग्रेस नेता खड्काले भने, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘मेरो कुनैपनि स्वामित्वसमेत नरहेको खडका ल्याण्ड डेवलपमेन्ट प्रा.लि.सँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उदेश्यले विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ,’ नेता खड्काले भने ।

‘केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि मेरो नाम जोडेर बदनाम गराउने र मेरो हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

खडका ल्याण्ड डेवलपमेन्ट प्रा.लि.सँग कांग्रेस खड्काले आफ्नो सम्बन्ध तोडीसकेका छन् । तैपनि नेपाल स्काउटको भाडामा नेता खड्कालाई जोडेर समाचार निरन्तर आइरहेका छन् । निरन्तर चरित्रहत्या हुने गरेर समाचार आएपछि खड्काले समाचारहरूको खण्डन गरेका छन् ।

यसैबीच, नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रा.लि.बीचको हिसाब–किताब (भाडा) सम्बन्धी विवाद हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको प्रा.लि.ले जनाएको छ ।

प्रा.लि.ले प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘सोही विवादसँग सम्बन्धितरूपमा नेपाल स्काउटले मिति २०८२/०७/२० मा ७ दिनभित्र सम्पूर्ण सामान हटाउन निर्देशन दिई, त्यसपछिको सामान जफत गरिने उल्लेखसहित सूचना प्रकाशित गरेको विरुद्ध यस कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइपछि उच्च अदालत पाटनले मिति २०८२/०७/२५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नेपाल स्काउटलाई मिति २०८२/०७/२० मा जारी गरिएको सूचनाअनुसारका कार्य नगर्नु नगराउनु भनी आदेश दिएको छ । साथै, सो आदेश वमोजिम नेपाल स्काउटलाई यही कार्तिक ३० गते अदालतमा उपस्थित हुन पनि निर्देशन गरिएको छ ।’

‘विभिन्न सञ्चार माध्यमहरूमा यस प्रा.लि.का सच्चालकका रूपमा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको नाम जोडेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो एकल स्वामित्वमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट २०७९/०५/१३ देखि सञ्चालनमा रहेका छ । पूर्वमन्त्री खड्काको यस कम्पनीमा कुनै स्वामित्व वा संलग्नता छैन ।’

‘यस कम्पनीले नेपाल स्काउटसँग मिति २०७३/१२/१८ र मिति २०७४/११/२७ मा दश वर्षको अवधि रहने गरी भाडा समझौता गरेको थियो । सो समझौता बमोजिम कम्पनीले आफ्नो भोगचलन अवधिका सम्पूर्ण भाडा रकम नेपाल स्काउटलाई बुझाइसकेको छ । तथापि, नेपाल स्काउटले विभिन्न कारण देखाउँदै समझौता विपरीत बिजुली, खानेपानी तथा ढलजस्ता आवश्यक सेवाहरू रोकने कार्य गर्दे व्यवसाय सञ्चालनमा निरन्तर बाधा पुर्‍याउँदै आएको थियो । समझौता अवधिमा अझै तीन वर्षभन्दा बढी समय बाँकी हुँदाहुँदै, मिति २०८१ वैशाखदेखि स्काउटले बिना जानकारी सम्पत्ति तालाबन्दी गरी आफ्नो नियन्त्रणमा लिएको तथ्य पनि विदितै छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘अदालतको आदेशको पालना नगरी नेपाल स्काउटले बल प्रयोग गर्दै आज यस प्रा.लि.सँग सब– लिज करार गरि संचालकद्वय वीरेन्द्रकुमार श्रेष्ठ र राजेन्द्रविक्रम पौडेलले करोडौं लगानी गरि सच्चालनमा ल्याएको लैनचौर ब्यांक्वेट र माई च्वाईस रेस्टुरेन्ट भत्काउने कार्य गरेकोमा यस प्रा.लि. गम्भीर आपत्ति व्यक्त गर्दछ । अदालतमा विचाराधीन विषयमा यस्तो गैरकानूनी हस्तक्षेप गर्नु अदालतको अवहेलना गरिएको यस प्रा.लि. को ठहर छ । यस कार्यबाट माथि उल्लेखित कम्पनीलाई अपूरणीय क्षति पुगेकोले कानूनी उपचारका लागि प्रक्रिया अधि बढाइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘सत्य तथ्यविना भ्रामक, नियोजित र चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशित समाचारप्रति गम्भीर खेद प्रकट गदैं, यस्ता विषयमा सत्य तथ्य पुष्टि गरी मात्र समाचार प्रकाशन गर्न अनुरोध गर्दछु । जिम्मेवार सञ्चार माध्यमले निष्पक्ष र तथ्यपरक समाचार प्रवाह गरी सामाजिक उत्तरदायित्व वहन गर्ने अपेक्षा गर्दछु,’ प्रा.लि.का अध्यक्ष विकल क्षेत्रीले भनेका छन् ।

Published : Friday, 2025 November 14, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया