गगन-विश्वलाई जीतजंगको प्रश्न– चुनावको बेला दुई महामन्त्री स्टार प्रचारक भएर जानु भएको थियो, ती ठाउँ जिताउनु भयो ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले फरक विचार राखियो भने सोसल मिडियामा गाली र श्रद्धाञ्जलि लेखेर मानमर्दन गर्ने कार्यहरूको विरोध गरेका छन् ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बस्नेतले भने, ‘सभापति ज्यूलाई नालायकसम्म भन्न छुट छ ! सभापतिसहितको नेतृत्व बाहिर राखेर अधिवेशन गर्छु भन्नेसम्म खुलेआम सुनिन्छ !’
महामन्त्री गगन थापाका साइबर सेनाद्वारा सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या हुने गरी लेख्ने, तस्बिर बिगारेर राख्ने लगायतका हर्कत गर्दै आएका बेला नेता बस्नेतले सचेत गराएका छन् ।
‘महामन्त्रीसँग मत बाझियो भने नेपो किड्स, खरानी बनाउने भन्ने आक्रामक संस्कृति फैलिएको छ । यो कस्तो लोकतान्त्रिक संस्कार ? मेरो प्रश्न,’ नेता बस्नेतले भने ।
‘चुनावको बेला दुई महामन्त्री स्टार प्रचारक भएर जानु भएको थियो, ती ठाउँ जिताउनु भयो ? अहिले तपाईहरूकै नेतृत्वमा कति जित्न सकिन्छ ?’ गगन थापा र विश्वप्रकाश शर्मासँग नेता बस्नेतले प्रश्न गरेका छन् ।
उपनिर्वाचनका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चितवन, तनहुँ र ईलाम गएका थिए । ती ठाउँमा कांग्रेसले हारेको थियो ।
‘विगत चुनावमा कति युवालाई टिकट दिलाउन सकियो ? कति युवाका पक्षमा खुलेर बोलेर लड्नुभयो ? राष्ट्रिय सभाको चुनावको जाने बेला महामन्त्रीज्यूले नोट अफ डिसेन्ट लेख्नुभयो । किन यस्तो नोट आवश्यक पर्यो ? त्यो निर्णयले हामीजस्ता कार्यकर्ता के अपेक्षा राख्नु ?’ उनले भने ।
‘हामी नेपो होइनौं, नेपो ज्वाइँ पनि होइनौं – हामी शुद्ध कांग्रेसी हौं । कामकारबाही हेर्दाखेरी चुनाव गर्ने लक्षण देखिदैन । त्यसैले अहिलेको अवस्थाबाट निस्किनुका लागि पहिलो र सर्वाधिक विवेकी कदम – संसदको पुनर्स्थापना हो तर, निर्वाचनमा भाग त लिनु नै पर्छ । म त प्रष्ट रूपले भन्दछु निर्वाचनपछि अधिवेशन,’ उनले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया